स्थानीय संस्कृति अतिक्रमणप्रति अभियन्ताहरुको चिन्ता
SamacharDesk – सोसियल ब्यूरो | २०७५ चैत्र २३, शनिबार

नेवार समाजमा भिन्न राजनैतिक सिद्धान्त भएतापनि समुदाय एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको अभियन्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेवार समुदाय आफ्नो परम्परा, संस्कृति, पेशागत विविधताका कारण सम्पन्न देखिएतापनि आर्थिकस्तर, चेतनास्तर अभिबृद्धि गर्ने सवालमा पछाडी नै रहेको जनाए ।
ताम्रकार समाजको १७औं साधारणसभा तथा २३औं सामूहिक भेलाको अवसरमा नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले राजनैतिक चेतनाको कमीले गर्दा नेवार समुदाय अगाडी बढन नसकेको बताउनुभयो । मुलुकको कला, संस्कृति, सम्पदाको उत्थानमा ताम्रकार समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै ताम्रकार वर्गको शीप, कला, कौशलको जर्गेना गर्नसके समग्र मुलुकले फाइदा लिनसक्ने अध्यक्ष ताम्रकारको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले नेवार समूदायको मौलिक संस्कृति, रहनसहन, भाषाशैलीमा भइरहेको अतिक्रमणप्रति चिन्ता पोख्दै पूर्खाहरुले आफ्नो रगत, पसिना बगाएर ठड्याएका ऐतिहासिक कला, सम्पदा, धरोहरको रक्षार्थ नेवाः देय् दबूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेवारहरुको हक, अधिकारको लागि नेवाः देय् दबू प्रभावकारी ढङ्गबाट अगाडी बढ्न ताम्रकारले आव्हान गर्नुभयो ।
कार्यक्रममा ताम्रकार समाजबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको उग्रचण्डी सम्मान सिरपाः (पुरस्कार) यस वर्ष शारिरीक सुगठन खेलको माध्यमबाट ताम्रकार वर्गको नाम उच्च राख्न सफल सागर ताम्रकारलाई प्रदान गरियो । सम्मानित ताम्रकारलाई सम्मान पत्रको साथमा राशी रु १० हजार पनि प्रदान गरिएको थियो ।
सो अवसरमा ताम्रकार समाजको आफ्नै मोबाइल एप्लिकेशनको पनि शुरुवात गरीएको थियो ।
सोही कार्यक्रममा ७७ वर्ष ७ महिना पूरा गरी भीमरथारोहण सम्पन्न एक्काइस जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । साथै गत शैक्षिक सत्रमा समाजबाट एस.इ.इ देखि पिएचडी तहसम्म उत्तीर्ण ९० विद्यार्थीहरुलाई शैक्षिक सम्मान पनि गर्नुका साथै समाजलाई आर्थिक तथा भौतिक सहयोग गर्नुहुने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।
समारोहमा समाजका उपाध्यक्ष विनोद ताम्रकार, सम्मानित व्यक्तित्व सागर ताम्रकार लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
सभाको बन्दसत्रमा महासचिव शम्भुगोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपेश ताम्रकारले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
Categorized in समाज