arin enterprises

‘कोरोनाभाइरस रोकथामको नाममा क्लोरिन छर्किनु बजेटको दुरुपयोग’

SamacharDesk – विकाश | २०७६ चैत्र २८, शुक्रबार

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भनेर काठमाडौंको साथै देशका विभिन्न स्थानमा क्लोरिन छर्किने काम भइरहँदा यसबाट केही फाइदा नहुने विज्ञहरुले बताएका छन् ।

सरसफाइ र अन्य भाइरस ब्याक्टेरीयाबाट सुरक्षाको लागि फाइदाजनक भएपनि कोरोना भाइरसको नियन्त्रण अथवा रोकथाममा यसले केही काम नगर्ने विज्ञहरुले बताएका हुन् ।

संयुक्त राज्य अमेरीकामा वातावरण सम्वन्धी अध्ययन अनुसन्धानको क्षेत्रमा कार्यरत वैज्ञानिक डा. रोशन श्रेष्ठले कोरोना भाइरस रोकथामको लागि बरु स्थानीय सरकारले क्लोरिन पानी छर्किने बजेटले सबैलाई स्यानिटाइजर उपलब्ध गराइदिए प्रभावकारी हुने बताउनुभयो ।

स्थानीय सरकारहरुले यसरी अध्ययन नै नगरी जथाभावि क्लोरिन छर्किदै हिँड्नु भनेको जानीनजानी बजेटको दुरुपयोग भएको श्रेष्ठको भनाई हो । 

‘क्लोरिनको प्रभावकारीता अध्ययन नगरी कोरोनाभाइरस नियन्त्रण र रोकथामको नाममा क्लोरिन छर्केर जनताले रगतपसिना बगाएर तिरेको करको सिध्याउने गैरजिम्मेवारी काम हो’ डा. श्रेष्ठले भन्नुभयो ।

‘कोरोनाभाइरस नयाँ र स्थीर प्रकारको भाइरस हो, यो क्लोरीनमा पनि १०–१५ मिनेटसम्म सक्रिय रहनसक्छ । यसको लागि क्लोरीनले खासै असर गर्दैन । बरु स्यानिटाइजर नै प्रभावकारी हुनेछ’ डा. श्रेष्ठको भनाई हो ।

स्यानिटाइजरमा अलकोहल पनि हुने र कोरोना भाइरस अलकोहलमा १० सेकेन्ड पनि बाँच्न नसक्ने भएकोले स्यानिटाइजर नै प्रभावकारी हुने श्रेष्ठको दावी हो ।

स्यानिटाइजर वा अलकोहल बेस औषधी पानी छर्किन सकिएला कि भन्ने प्रश्नमा डा. श्रेष्ठले भन्नुभयो, ‘स्यानिटाइजर छर्किएमा पनि एकैछिनको लागि मात्र प्रभावकारी हुनेछ । एकैछिनमा यसको अल्कोहल वाष्पीकरण हुने भएकोले यसको केही अर्थ रहन्न ।’

सबैले खल्तीमै स्यानिटाइजर बोकेर हिँड्ने र कतै छुने वित्तिकै स्यानिटाइजरले हात सफा गरिरहनु राम्रो हुने श्रेष्ठको सुझाव छ । 

अहिलेको अवस्थामा क्लोरीन छर्किने बजेटले सबैले खल्तीमै बोक्न मिल्ने गरी स्यानिटाइजर उपलब्ध गराइदिन र समय समयमा स्यानिटाइजरले हात सफा गरीरहन श्रेष्ठले सुझाउनुभयो ।

साथै स्यानिटाइजरमा प्रयोग हुने अलकोहल र पिउने अलकोहलको प्रकृती नै फरक भएकोले भ्रममा नर्पन पनि श्रेष्ठले आग्रह गर्नुभयो ।

Categorized in विज्ञान-प्रविधी