arin enterprises

‘संस्कृति, सम्पदाको संरक्षणमा महानगरले कन्जुस्याईँ नगर्ने’

SamacharDesk – सोसियल ब्युरो | २०७५ भाद्र ११, सोमबार

ताम्रकार समाजको आयोजनामा दुई महिने धाः बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समाजले शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी प्रशिक्षणको औपचारिक समापन गरेको हो ।

कार्यक्रममा आठ वर्षीया कल्या, सक्षम, सौम्य लोपोन्मुख परम्परागत धाःबाजा बोकी मञ्चमा उक्लिँदा सभास्थल जोडदार तालीले गुञ्जायमान भएको थियो । यतिमात्र होईन, कल्या, सक्षम, सौम्यको साथै सिचु र सुभाषिकाले दुई महिनामा आफुले सिकेका बाजाका बोलहरु बजाएर सुनाउँदा सबै दर्शकहरु मुग्ध बनेका थिए । 

२४ नं. वडाका अध्यक्ष एवं महानगरपालिकाको सामाजिक बिकास समितिका संयोजक दिनेश कार्की, वडा नं. ४ का अध्यक्ष नारायण के.सी., वडा नं. १९ का अध्यक्ष विनोद ताम्रकार, केन्द्रका अधिकृत सबिना महर्जनले युवाहरुले बजाएको प्रत्येक बोलमा नबिराइकन ताली ठोकीरहेका थिए ।

ललितपुर महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष दिनेश कार्कीले सम्पदा, संस्कृति, संरक्षणमा युवाहरुलाई आकर्षित गर्न यस्ता कार्यक्रमहरु निरन्तर आयोजना भइरहनुपर्ने बताए । साथै वडाध्यक्ष कार्कीले सम्पदा, संस्कृति, परम्परा, कला, कौशल नै ललितपुरको धरोहर भएकोले यसको संरक्षण, सम्वर्ध्दनमा महानगरपालिकाले कन्जुस्याईँ नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले लोपोन्मुख परम्परागत धाः बाजामा युवावर्गको आकर्षण बढाउन उक्त प्रशिक्षण कार्यक्रम गरीएको बताउनुभयो । महानगरपालिकाले कार्यक्रम छनौट गर्दा संस्थाको क्षमता, स्तरमा ध्यान पुर्याउनपर्नेमा अध्यक्ष ताम्रकारको जोड थियो ।

सोही कार्यक्रममा प्रशिक्षणका गुरुहरु राम ताम्रकार, सन ताम्रकार, बिजु राजकर्णिकारलाई वडाध्यक्ष कार्कीले कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

ललितपुर महानगरपालिका संस्कृति, सम्पदा, पुरातत्व संरक्षण केन्द्रको सहयोगमा ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिबाट आयोजना भएको उक्त प्रशिक्षणमा आठदेखि ४० वर्षसम्मका २० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।

Categorized in समाज