कोरोना संक्रमणबाट दशौं मृत्युको पुष्टि
SamacharDesk – विकाश | २०७७ जेठ २२, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
गत जेठ २० गते मृत्यु हुने पुरुषमा कोरोेना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको छ ।
मृत्यु हुने व्यक्ति पाल्पा पूर्वखोला गाउँपालिका सिलुवा निवासी ४५ वर्षीय पुरुष हुन् ।
उनी पाँच दिन अघि भारतबाट फर्केको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उनी १८ गते भारतबाट आई शम्भु मावि क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा बसेका उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि १९ गते पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो ।
सोही दिन कोरोना परिक्षणका लागि उनको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।
स्वाब परिक्षणको रिपोर्ट भने आज मात्र आएको हो भने रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने १० जनामध्ये ८ जनाको रिपोर्ट संक्रमितको निधनपछि मात्रै आएको छ ।
पछिल्लो समय भारतबाट आउनेको संख्या बढेसँगै परिक्षणको लागि स्वाब संकलनको संख्या पनि निकै बढेको छ भने संकलन गरिएका स्वाब परिक्षणको पालो हप्तादिनमा मात्रै आउने गरेको छ ।
हाल देशका २१ वटा प्रयोगशालाबाट परिक्षण हुने गरेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ भने संक्रमण निको हुनेको संख्या ३ सय नजिक पुगेको छ । हालसम्म २ सय ९० जना यस संक्रमणबाट निको भएका छन् ।
Categorized in समाज