arin enterprises

बुरकिना फासाेमा बन्दुकधारीकाे हमलामा १३२ जना मारिए

SamacharDesk – बिकाश | २०७८ जेठ २३, आइतबार

बुरकिना फासोको एक गाउँमा बन्दुकधारीहरुको हमलामा १३२ बढिको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रको याघा प्रान्तको सोलान गाउँमा भएको हमलामा मारिनेमा सात जना बालबालिकासमेत रहेका छन् ।

यस हमलालाई बुरकिना फासो सरकारले पछिल्ला वर्षहरुमा सबैभन्दा ठुलो हमला भनेको छ ।

रातको समयमा आएका बन्दुकधारीहरुले त्यहाँको घरहरु र स्थानीय बजारमा आगो लगाइदिएका थिए ।

अहिलेसम्म कसैले पनि हमलाको जिम्मा लिएको छैन । यद्यपि अहिले बुरकिना फासोको सीमावर्ती क्षेत्रमा इस्लामीक चरमपंथी समूहको हमला बढेको बीबीसीले जनाएको छ ।

बुरकिना फासोका राष्ट्रपति रक क्याबोरेले तीन दिन राष्ट्रीय शोकको घोषणा गरेका छन् । ट्वीट गर्दै राष्ट्रपति क्याबोरेले सुरक्षाबल आक्रमणकारीको खोजीमा जुटिसकेको जनाएका छन् ।

यसैबीच संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेशले हमलाको निन्दा गरेका छन् ।

हमलाप्रति आक्रोश व्यक्त गर्दै गुटेरेशले हिंस्रक चरमपंथ र यसको कारणले हुने मृत्युविरुद्ध लड्न आफ्ना सदस्य राष्ट्रलाई दिने सहयोगलाई बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

गत शुक्रबार मात्रै भएको हमलामा सोलानबाट १५० किलोमीटर टाढा तदरयात गाउँमा १४ जना मारिएका थिए । त्यस्तै बुरकिना फासोको पूर्वी क्षेत्रमा गत महिना भएको एउटा हमलामा ३० जना मारिएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय