arin enterprises

दिक्षा (गौरी) हाडा फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरबाट १६५ लाभान्वित

SamacharDesk – बिराज | २०८३ आषाढ २८, आइतबार

भक्तपुर । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भक्तपुरको इताछेँमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना सर्वसाधारणले आफ्नो स्वास्थ्य जाँच गराए ।

शिविरमा रक्तचाप (ब्लड प्रेसर), सुगर परिक्षणको साथमा शिविरमा दन्त परीक्षण पनि गरिएको थियो भने आवश्यक स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो । साथमा आवश्यकताको आधारमा निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।

समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण सेवा उपलब्ध गराइएको फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेकी थिइन् ।

फाउन्डेसनले आर्थिक वा कुनै पनि कारणले कोही स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस् र समयमै समस्याको पहिचान गराई उपचार गराउन सकियोस् भन्ने उद्देश्यले यस किसिमका कार्यक्रम गर्दै आएको जनाएको छ ।

आगामी दिनमा पनि यस्ता जनहितका स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ ।

सार्कोमा नामक टिस्यूको क्यान्सरका कारण २२ वर्षको अल्पायूमै निधन भएकी दिक्षा (गौरी) हाडाको नाममा यो फाउन्डेसन संचालन हुँदै आएको छ । हाडाको २०७५ चैत्र १२ गते निधन भएको थियो ।

स्वर्गीय हाडा संगीतकर्मी साथै संचार उद्यमी राजेश हाडाकी सुपुत्री र वरिष्ठ संगीतकर्मी स्वर्गीय नगेन्द्र हाडाकी नातिनी थिइन् ।

Categorized in समाज