२०८१ को रातो मच्छिन्द्रनाथ जात्रा संकटमा ?
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष १८, बुधबार

बाराही दः गुठीले गुठि संस्थानलाई २०८१ सालको मच्छिन्द्रनाथ जात्राको लागि काठ उपलब्ध नगराएको आरोप लगाएको छ । दः गुठीले गुठी संस्थान शाखा कार्यालय ललितपुरको नाममा एक पत्र लेख्दै पटक पटक ताकेता गरे पनि काठ उपलब्ध नगराएको जनाएको हो ।
हाल रहेको रथको खत, धमापासा, रथको पांग्रा, लुसाको काठ इत्यादि सम्पूर्ण २०८१ सालमा जात्राको लागि काम नलाग्ने भनी गुठी संस्थानलाई जानकारी दिएको गुठीले जनाएको छ ।
‘गुठी संस्थान पाटन कार्यालयमा रहेको पुरानो काठहरु सबै निकालेर इस्टीमेट गरी नयाँ काठहरु श्रावण महिना भित्र ल्याउने व्यवस्था मिलाइदिनु हुन भनी २०८०।०३।०३ मा नै इस्टीमेटका साथ निवेदन पेश गरेका थियौं’ पत्रमा लेखिएको छ ।
यसअघि रथको पांग्राको लागि गत कार्तिक १४ गते नै रुख पुजा सम्पन्न भइसकेपनि हालसम्म काठ उपलब्ध नगराएको दः गुठिको भनाई छ ।
‘पांग्राको काठ कटानी अघि पूजा गर्नुपर्ने गत कार्तिक १४ गते नै पूजा सम्पन्न भई सकेको यहाँलाई जानकारी नै छ । अत सो पूजा गरेको रुख हालसम्म पनि कटान गरी ल्याउने काम नभएको हुँदा रथलाई चाहिने काठको काम ढिला भइसकेको र आउँदो माघको पहिलो हप्तासम्म रथलाई चाहिने सम्पूर्ण काठहरु कटान चिरान गरी काम गर्ने स्थानमा ल्याउन अनुरोध गर्दछु’ पत्रमा भनिएको छ ।
साथमा समयमा काठ उपलब्ध नभएर रथ निर्माण हुन नसकी जात्रा रोकिएमा दः गुठी जिम्मेवार नहुने भनी गुठी सस्थानलाई चेतावनी बराही दः गुठिले दिएको छ ।
यसै सन्दर्भमा मूर्तिकार रवि शाक्यले दः गुठिको पत्र फेसबुकमा पोस्ट गर्दै सम्पदाप्रति राज्यले घटिया व्यबहार गर्ने गरेको आरोप लगाएका छन् ।
‘सडक बिस्तारका नाममा लाखौं रुख काटिन्छ । योजना नै फेल खाएको निजगढ विमानस्थलको नाममा हजारौं हेक्टर जंगल फदानी गरिन्छ । तर संसारभर चिनाउने सिंगो देशको सान हाम्रो श्री रातो मछिन्द्रनाथ जात्रा नै चलाउन गार्हो हुने गरि केही..... मात्र केहि काठ उपलब्ध गराउन आनाकानी किन ?’आफ्नो वालमा मूर्तिकार शाक्यले लेखेका छन् ।
यस बिषयमा जनस्तरबाट दवाब दिन बाध्य भएको शाक्यले लेखेका छन् ।
Categorized in संस्कृति
