दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न
SamacharDesk – बिराज | २०८१ बैशाख ३१, सोमबार

नेपालले दुवई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करण सम्पन्न गरेको छ ।
मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको थियो ।
अरेबियन ट्राभल मार्केटमा वैशाख २४ देखि २७ सम्म आयोजित कार्यक्रममा विश्वभरका १६० भन्दा बढी देशहरूबाट ३ हजार बढी आगन्तुकहरू सहभागी थिए ।
एटीएममा द सोल्टी होटल एण्ड रिसोर्ट्स, द एभरेष्ट होटल, कोरा टुर्स, अराउन्ड द हिमालयज प्रा. लि., हिमालयन ३६०, एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर लगायतका कम्पनीको सहभागीता रहेको बोर्डका प्रबन्धक सुमन घिमिरेले जानकारी दिए ।
साथै नमस्ते टुरिजम एण्ड हलिडेज प्रा. लि., सत्यम टोरस एण्ड ट्राभल्स प्रा. लिमिटेड र इन्क्रेडिबल माउन्टेन्स प्रा. लि.को पनि सहभागीता रहेको थियो ।
निजी क्षेत्रका सहभागीहरूले ४ दिने कार्यक्रममा सम्भावित खरिदकर्ताको उपस्थिति र प्रतिक्रियाले युएईबाट नेपालमा पर्यटक आगमनमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मेलामा बोर्डका अधिकारीहरूले थोक बिक्रेता, ट्राभल मिडिया, मार्केटिङ प्रतिनिधिहरू र प्रभावकारीहरूसँग भेटेर अन्तरक्रिया गरेका थिए ।
युएइका लाागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीसहित राजदूतावासको टोली तथा नेपाल व्यापार परिषद् दुवईका अध्यक्ष डा.आसिफ अली सिद्दिकी, विश्व पर्यटन मञ्चका सदस्य बारिस काह्रिमान लगायतले नेपाल स्टलको भ्रमण गरेका थिए ।
सो अवसरमा गणतन्त्र माल्दिभ्सका पर्यटनमन्त्री इब्राहिम फैसल, एयर इन्डिया एक्सप्रेसका चीफ मार्केटिङ अफिसर सिद्धार्थ बुटालिया र उनको टोलीसँग भेटवार्ता भएकाे बोर्डका प्रबन्धक घिमिरेले जानकारी दिए ।
साे क्रममा नेपालको पर्यटन तथा मुम्बई–काठमाडौं–मुम्बई बैंग्लोर–काठमाडौं–बैंग्लोरउडान लगायतका विषयमा छलफल भएको घिमिरेले जनाए ।
Categorized in बिजनेस