थप ३२ जनाले कोरोना संक्रमणलाई परास्त गरे
SamacharDesk – विकाश | २०७७ जेठ २४, शनिबार

नेपालमा थप ३२ जना कोरोना संक्रमित कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो पटक विभिन्न ४ वटा अस्पतालबाट ५ जना महिला र २७ जना पुरुषहरु संक्रमण निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटकमा जनकपुर प्रादेशिक अस्पताल, जनकपुरबाट १५ जना जना डिस्चार्ज भएका छन् । धनुषा, सर्लाही, झापा, महोत्तरीका १८ देखि ४५ वर्ष उमेर समूहका उनीहरुमध्ये एक जना महिला छन् भने १४ जना पुरुषहरु रहेका छन् ।
उनीहरु १२ देखि १७ दिनको अस्पताल बसाईँपछि निको हुँदै घर फर्केका हुन् ।
सुशील कोईराला क्यान्सर प्रखर अस्पताल, बाँकेबाट ४ जना निको भई घर गएका छन् । बाँके र गुल्मी जिल्लाका तिनीहरुमा २३ देखि ३५ वर्षसम्मका २ जना महिला र २ जना पुरुषहरु रहेका छन् ।
अस्पतालमा १५ देखि १७ दिनको उपचार पछि उनीहरु निको भएका हुन् ।
सेती अस्पतालबाट ६ जना डिस्चार्ज भए । डिस्चार्ज हुनेहरु बैतडी र अछामका वासिन्दा हुन् ।
११ देखि ३८ वर्षका एक महिला र पाँच जना पुरुषहरु ११ देखि १४ दिनको उपचारपछि डिस्चार्ज भएका हुन् ।
सुर्खेतबाट ७ जना निको हुनेमा मुगुका एक जना ३५ वर्षीया महिला छिन् भने अरु ६ जना सुर्खेतका १६ देखि ३६ वर्षका पुरुषहरु रहेका छन् ।
थप ३२ जनासँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ सय ६५ पुगेको छ । जसमध्ये २ सय ९९ जना पुरुष छन् भने ६६ जना महिला छन् ।
Categorized in समाज