कोरोना संक्रमणबाट नेपालमा पाँचौँ मृत्यु
SamacharDesk – विकाश | २०७७ जेठ १५, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको छ ।
हिजो ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई कलेजो सम्वन्धी समस्याका कारण गत ज्येष्ठ ११ गते अस्पताल भर्ना गरिएको थियो ।
अलकोहलिक लिभर डिजिज भन्दै पाटन अस्पताल लगिएका उनलाई त्यहाँ आइसीयू नभएको कारण किस्ट रिफर गरिएको थियो ।
सोही दिनदेखि नै उनलाई आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । तर १३ गते विहान स्वास्थ्य अवस्था विग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो ।
कोरोना संक्रमण परिक्षणका लागि १२ गते नै उनको स्वाब नमूना संकलन गरिएको थियो भने हिजो १४ गते उनको मृत्यु भएको हो ।
मृत्यु भएको केही घन्टापछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
उनको मृत्यु हिजै भएको भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको प्रेस व्रिफिङमा मात्र उनको मृत्यु पुष्टि गरेको हो ।
यद्यपि सांसद् पम्फा भुसालले भने हिजै सामाजिक संजालमा मृतकप्रति श्रद्धान्जली पोख्दै उनको मृत्यु कोरोना संक्रमणका कारण भएको लेख्नुभएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
कुल संक्रमित संख्या भने १०४२ पुगेको छ जसमध्ये एक सय ८७ जना निको भएका छन् ।
Categorized in समाज