सशस्त्र प्रहरीहरुले योग दिवस मनाए
SamacharDesk | २०८१ आषाढ ५, मंगलबार

“१०औँ अन्तर्राष्ट्रिय योग दिवस”को अवसरमा सशस्त्र प्रहरी बलले योग शिविरको आयोजना गर्यो ।
पतंजली योग समितिले मंगलबार प्रहरी प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको हो ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, पतंजली योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
महानिरीक्षक अर्यालले शारिरीक रुपमा स्वस्थ्य, मानसिक तवरणले शान्त र आध्यात्मिक हुनको लागि योग अभ्यास निकै आवश्यक रहेको बताउनुहुँदै योगले राष्ट्रसेवक कर्मचारीहरुलाई समेत उर्जा प्रदान गर्ने बताउनुभयो ।
उहाँले विगत केही वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरुमा अन्तर्राष्ट्रिय योग दिवस तथा अन्य अवसरहरुमा समेत योग अभ्यास संचालन गर्दै आईरहेको चर्चा गर्नुहुँदै सुरक्षा निकायमा गरिने कसरत र अभ्यासले शारिरीक रुपमा तन्दुरुस्त बनाउने र मानसिक रुपमा तन्दुरुस्त हुन योग अभ्यास आवश्यक रहेको बताउनुभयो ।
Categorized in समाज