arin enterprises

तामाकोसी पाँचौमा सञ्चयकोषले लगानी गर्ने

SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ ८, सोमबार

तामाकोसी पाँचौ जलविद्युत आयोजनाको निर्माणका लागि लगानी जुटेको छ ।

९९.८ मेगावाट विद्युत क्षमता भएको दोलखाको बिगु गाउँपालिकामा उक्त जलविद्युत आयोजना निर्माण हुन लागेको हो । यसको लागि कर्मचारी सञ्चय कोषले लगभग ५५ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।

आयोजनको कूल लगानी निर्माण अवधिको व्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबिच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताउनुभयो ।

भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरूमा विद्युत् बिक्री गर्दा  वर्षमायाको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गर्नुभयो ।

माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रो मेकानिकल काम बाँकी रहेको छ ।

आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ ।

आयोजनाबाट वार्षिक रूपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो तामाकोसीमा रोल्वालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।

Categorized in विजनेस
SKIP THIS maharjan complex bumper adv