पूर्वराजा शाहलाई अध्यक्ष नेपालको चुनौति
SamacharDesk | २०८० कार्तिक १, बुधबार
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर राजनीति गर्न चुनौति दिनुभएको छ ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए ।
उहाँले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतमा उनीहरुले कसरी यो मुलुक चलाएका थिए, तिनीहरुका पनि हामीलाई एकएक कुराहरु सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होशियार हुनुपर्छ ।
कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन । भक्तपुरमा यो आवाज अझै गुञ्जाउनुपर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो ।
झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो । अस्ति भएको निर्वाचन आफैँमा जनमत संग्रह हो । जनताले सिधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाए ।
अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ ।
दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोशिस सफल हुनेछैन । हामी अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका छौँ ।
यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ, यसलाई भत्काउने अनेक कोशिस भइरहेका छन् । ति कुनै कोशिस सफल हुनेवाला छैनन् । यो गठबन्धनको सरकार एकतावद्ध भएर नै अघि बढ्नेछ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वंशको शासन नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताउँदै गठबन्धन भत्काउने कोशिस कुनैपनि हालतमा सफल नहुने बताउनु भयो ।
Categorized in राजनीति