arin enterprises

जसपा महानगर समितिको समायोजन, पूर्व राजपा समूहमा असन्तुष्टि

SamacharDesk – बिराज | २०७८ आश्विन १६, शनिबार

जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समिति समायोजन सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अनुप सिं सुवालको अध्यक्षतामा ८९ सदस्यीय समिति घोषणा भएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल एकिकरण भइ समाजवादी पार्टी नेपाल बनेको साढे २ वर्ष र समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी एकिकरण भई जसपा बनेको करीब डेढ वर्ष पछि काठमाडौं महानगर समितिको समायोजन गरिएको हो ।

संघीय समाजवादी र नयाँ शक्ति एकिकरण भएको समयदेखि हुन नसकिरहेको काठमाडौं महागनर समिति समायोजन आज सम्पन्न भएको हो ।

करीब साढे २ वर्षदेखि हुन नसकिरहेको समायोजन अहिले सम्पन्न हुँदा पनि विवादित बनेको छ । जसपा काठमाडौं महानगर समिति समायोजन हुँदा पूर्व राजपा समूह भने असन्तुष्ट देखिएका छन् ।

समाजवादी पार्टी र राजपा एकिकरण भई बनेको जसपाको महानगर समायोजनमा पूर्व नयाँ शक्ति र पूर्व ससफोबीच मात्र समायोजन गरिएको भन्दै पूर्व राजपा समूह असन्तुष्ट बनेका हुन् ।

पूर्व राजपाका केन्द्रीय सदस्य साथै समायोजन कार्यदलका सदस्य सबर प्रजापतिले आज विहान समायोजन कार्यक्रम पूर्व सामाजिक संजालमा स्टाटस अपडेट गर्दै पार्टीको निर्देशिका र सहमति विपरित पूर्व नयाँ शक्ति र पूर्व फोरमको कार्यक्रमप्रति आफ्नो घोर आपत्ती रहेको जनाए ।

समाचारडेस्कसँग कुरा गर्दै प्रजापतिले पूर्व राजपासमेतसँग एकिकरण भई जसपा पार्टी बनिसकेको अवस्थामा राजपालाई उपेक्षा गर्दै पूर्व नयाँ शक्ति र पूर्व ससफो मात्र मिलेर महानगर समिति समायोजन गरेको आरोप लगाए ।

‘समाजवादी पार्टी फुट्न लाग्दा यहि पूर्व राजपा समूहले पार्टी बचाएको हो, महन्थ ठाकुर समूह छुट्टिएर जाँदा यहि समूहले जसपा बचाएको हो । अहिले समायोजनमा यसरी राजपा समूहलाई उपेक्षा गर्ने भए किन कार्यदल बनाएर छलफलको नाटक गरेको हो ?’ प्रजापतिले भने ।

आफुलाई बिहिबार मात्र फोन गरेर शनिबार समायोजन कार्यक्रम रहेको जानकारी गराएको भन्दै प्रजापतिले साढे दुई वर्षसम्म हुन नसकेको समायोजन अहिले दुई दिन भित्र गरिहाल्नुपर्ने के विपद् आइलाग्यो भन्दै प्रश्न तेर्साए ।

‘साढे दुई वर्षसम्म हुन सकेको थिएन, अहिले  छलफललाई छोडेर, सहमति तोडेर दुई दिन भित्रमा समायोजन गरिहाल्नुपर्ने के थियो ? अझ केही दिन कुरेर पूर्व राजपा समूहलाई समेटेर गए आकाश त खस्दैन थियो, धरती त फाट्दैन थियो’ प्रजापतिको भनाई हो ।

सीमित समूहले पार्टी कब्जा गर्न खोजेको आशंका पोख्दै प्रजापतिले यस्तै रवैया रहे आफुहरुले समानान्तर गतिविधि संचालन गर्ने चेतावनीसमेत दिए ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082