arin enterprises

४८ बर्ष पछि पचली भैरवको नाच टोखामा

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १२, शुक्रबार

करीब ४८ वर्षको अन्तरालपछि पचलीको भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा आज टोखामा पुगेको छ । पचली भैरव देवगणको परदेश यात्राको क्रममा टोखा जाने परम्परा २०३२ सालको जात्राबाट टुटेपछि यस वर्षबाट फेरी निरन्तर हुन लागेको हो ।

४८ वर्षदेखि टुटिरहेको परम्परा फेरी निरन्तर हुने भएपछि १२ वर्षे खड्गसिद्धि जात्राका गुठीयार, सम्वद्ध समितिका पदाधिकारीको साथमा टोखावासीहरु खुसी छन् ।

टोखा संस्कृति संरक्षित क्षेत्र विकासका अध्यक्ष गणेशमान श्रेष्ठले आफुले निकै सानो बेला आफ्नो जन्मभूमि टोखामा हेरेको जात्रा आज फेरी टोखा फर्किँदा निकै खुसी लागेको बताए ।

‘पहिला टोखामा देवगणको नाच हेरेको अलि अलि याद छ, म निकै सानो थिएँ । बीचमा परम्पराले निरन्तरता पाएन । आज फेरी टोखामा देवगणको उपस्थितीले टोखाको माटो पवित्र भयो’ अध्यक्ष श्रेष्ठले भने ।

यस जात्रामा टोखा मात्र होइन, परदेश यात्रा भनी काठमाडौं बाहिर नाच लगिनुपर्ने परम्परा नै बीचमा रोकिएको रहेछ । ४८ बर्षसम्म परदेश यात्रा किन रोकियो भन्ने प्रश्नको उत्तर आफुलाई पनि थाहा नभएको पचली भैरव खड्ग सिद्धि जात्रा समितिका संयोजक तथा गुरु भरत माली बताउँछने ।

‘यो नाचको परदेश यात्रा किन रोकियो त भनेर यकिनका साथ उत्तर दिन त मैले पनि सकिन । म जबसम्म देवगणको रुपमा नाचेँ तबसम्म कहिँ पनि परदेश यात्राको लागि लगिएन’, संयोजक मालीले भने ।

परदेश यात्राको क्रममा टोखा, पाटन, भक्तपुर, साङला, चुनिखेल, गोकर्ण, साँखु र चाँगुमा पनि नाच प्रदर्शन गर्नुपर्ने चलन रहेको मालीले बताए ।

पचली भैरवको साथमा भद्रकालीको १२ बर्षे खड्गसिद्धि जात्रामा मालीले धुम्बाःद्यः (व्याघ्रिनी), बाराही, अजिमा (काली) र ब्रह्मायणीले भूमिका बसेर परम्परा धानेका छन् । अहिले उनी गुरुको रुपमा यस परम्परामा आवद्ध छन् ।

आफुले परदेश यात्राको बारे थाहा पाएपछि सम्वन्धित ठाँउका सम्वन्धित संघसंस्था, व्यक्तिहरुसँग सम्पर्क, समन्वय गर्दै पुरानो परम्परा ब्युँताउन थालेको माली बताउँछन् ।

‘वि.सं २०७२ सालमा नेवाः गुठि टोखासँग सहकार्य गर्दै भद्रकालीको १२ बर्षे नाच मेरै संयोजकत्वमा टोखा ल्याएको थिएँ । अहिले पनि यहि गुठि र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिसँग सहकार्य, समन्वय गरी पचली भैरवको नाच पनि यहाँ निरन्तर भएको छ’ मालीले भने ।

देवगणको परदेश यात्राको क्रममा आज टोखाको थःनेलाछिमा पचली भैरव देवगणको नाच प्रदर्शन गर्न लागिएको हो । नाच माघ १२ गते शुक्रबार साँझ र १३ गते शनिबार दिनभर हुनेछ ।

आज पचली भैरव नाचका देवगणहरु काठमाडौं ज्याःबहालवाट टोखाको मूध्वाखामा आइपुगेपछि बाजागाजा सहित स्वागत गरी टोखा गणेशस्थान मन्दिरमा ल्याउने कार्यक्रम रहेको टोखा संस्कृति संरक्षित क्षेत्र विकासका अध्यक्ष श्रेष्ठले बताए ।

‘देवगणहरु टोखा मूध्वाखा स्वागत गरि टोखा गणेशस्थान पुगेपछि विधिवत पूजा सम्पन्न गरी देवगणहरु मुकुट पोशाक लगाई मन्दिरवाटै निस्कनेछन् । त्यसपछि टोखा नगर परिक्रमा गराई थःनेलाछिमा पुगेपछी नाच शुरु हुनेछ’, अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, भोलि अर्थात शनिबार बिहान गणेश, कुमारी, भैरव, सिगिनी (सिम्वाद्यः) र व्याघिनी (धुम्बा द्यः) लाई साङलामा लागि पूजा थापी तसी प्याख अर्थात सिम्वाद्यः र धुम्वाद्यःको नाच नचाई पुनः थ:नेलाछिमा ल्याउने यस नाचमा बाराहि बन्ने मुकेश मालाकारले बताए ।

त्यस्तै विहान १० बजेदेखि पुनः गणेशको नाचबाट विधिवत रुपमा नाच शुरु हुने र साँझ बलिपूजा सम्पन्न गरि टोलिलाई टोखाबाट बिदाई गरिने श्रेष्ठले बताएका छन् ।

१२ वर्षे खड्गसिद्धि जात्राको नाच विना कुनै वाधा अवरोध विधिपूर्वक सम्पन्न भए गाउँठाउँ पवित्र हुने, शान्ति हुने, रोगव्याधी नलाग्ने, बालीनाली, वस्तुभाउ सप्रिने र कार्यसिद्धि हुने धार्मिक विश्वास समाजमा रहेको छ ।

Categorized in संस्कृति