नवनियुक्त प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ श्रावण ९, बुधबार

प्रहरी निरीक्षक पदमा नवनियुक्त प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ नियुक्त भएकामध्ये ६७ जना प्रहरी निरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरे ।
२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते अन्तिम नतिजा प्रकाशित भएको थियो । जसमा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका थिए । जसमा ९ जना महिला रहेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त प्रहरी अधिकृतहरूलाई आम नागरिकको केन्द्रविन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।
आगामी दिनमा निष्ठावान्, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्नुपर्नेमा ढकालले जोड दिए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।
Categorized in समाज