arin enterprises

बैंकका कर्मचारीलाई प्रहरीले नरोक्ने

SamacharDesk – शिवेश शर्मा | २०७७ भाद्र ४, बिहिबार

काठमाडौं उपत्यकाभित्र दिनहुँ सय बढि संख्यामा कोरोना संक्रमितहरु भेटिन थालेपछि हाल काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरीएको छ । आजबाट शुरु निषेधाज्ञा आउँदो १० गतेसम्म रहनेछ । 

यो अवधिमा अत्यावश्यकीय सेवाका सवारी साधन र कर्मचारीलाई नरोक्ने बताइएको थियो । 

हाल जारी रहेको निषेधाज्ञासम्वन्धि सूचनाको १३ नम्बरको बुँदामा उल्लेख छ, ‘बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्यूतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।’

बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान र आउन दिने आदेश भएको थियो ।

हालको अवस्थामा बैंकिङ सेवालाई पनि महत्वमा राख्नुपर्ने अवस्था छ । प्रत्यक्ष पैसाबाट कारोबार गर्दा संक्रमण फैलिने भएकोले अनलाईन कारोबार गर्न सरकारले पनि भन्दै आएको छ भने अनलाईन कारोबारमा समेत बैंकका कर्मचारीहरु खटिनुपर्ने हुन्छ ।

यस्तो परिवेशका बीच बैकर्स संघले पनि बैंकका केही शाखाहरु खोलेर थोरै कर्मचारीहरुबाट सेवा प्रवाह गर्ने सूचना समेत जारी गर्यो ।

तर आज विहान कार्यालयमा बोलाइएका बैंकका कर्मचारी भने प्रहरीबाट बीच बाटोमै रोकिए ।

केही बैंक कर्मचारीले त आफुलाई प्रहरीबाट अपराधी सरह व्यवहार भएको समेत गुनासो गरे ।

यसपछि प्रहरीले अनावश्यक दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका कुनै पनि शाखा कार्यालयहरु नखोल्ने भनेको थियो ।

अब भने यस्तो परिस्थिती नरहने प्रहरीले जनाएको छ । प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने जनाएको छ ।

कार्यालय हिँडेका बैंकका कर्मचारीलाई नरोक्न आदेश आएको प्रहरीले जनाएको छ । बैंकका कर्मचारीलाई नरोक्न माथिबाटै सर्कुलर आइसकेकोले अब नरोकिने नेपाल प्रहरीले जनाएको छ ।

बैंकहरु सबै बन्द भइदिए सर्वसाधारणमा धेरै असुविधा हुने हुदाँ बैंकका कर्मचारीहरूलाई नरोक्नका लागि आदेश जारी भएको बताइएको छ ।

तर नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ । 

हिजो पनि परिचय पत्रको आधारमा नरोक्ने भनेकामा आज रोकिएको कारण एकैपल्ट विश्वास गरीहाल्ने अवस्था नरहेको बैंकर्स संघको भनाई छ ।

Categorized in बिजनेस