संगीतकर्मीहरुले सम्झे भजन स्रष्टा भीमबहादुरलाई
SamacharDesk – बिराज | २०७७ फाल्गुण १५, शनिबार

संगीतकर्मी र संगीतप्रेमीहरुले आज संगीतकार भजन संगीतका श्रष्टा स्वर्गीय भीमबहादुर नकर्मीलाई सम्झेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली साथै नेपालभाषाको भजन तथा लोक संगीत समेतको विकासमा संगीतकार भीम बहादुर नकर्मीको योगदानको चर्चा गरे ।
कार्यक्रममा जन संगीत श्रष्टा अमरराज शर्माले स्थानीय समाजमा भजनलाई नयाँ धार दिन र समाजको चाहना अनुसारको भजन दिन स्वर्गीय नकर्मी सफल भएको बताए ।
त्यस्तै वरिष्ठ गायक जुजुकाजी रंजित र वरिष्ठ संगीतज्ञ धनबहादुर गोपालीले संगीतकार नकर्मी भजनको साथमा युवा पुस्ताको चाहना अनुसार मायापिरतीका गीतहरुको रचना गर्ने, संगीत दिनेदेखि लिएर लेखनमा समेत दख्खल भएका बहुप्रतिभाशाली व्यक्तित्व भएको विचार राखे ।
जनकवि दुर्गालाल श्रेष्ठले अग्रज रचनाकारको सम्मानका लागि नयाँ रचनाकारले रचनाका लागि साधना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्व. नकर्मीबाट लिखित नेपालभाषाको पुस्तक ‘जिं लुमंथे जिगु खँ’ को विमोचन गरिएको थियो । पुस्तकको बारे पुस्तकका सम्पादक कृष्ण प्रजापतिले प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा संगीतकर्मी भीमबहादुरको साथमा उनका सुपुत्र रेडियो नेपालमा संगीत शाखाका प्रमुख मनराजा नकर्मीबाट रचित, संगीतबद्ध, आशा नकर्मी र मोहन शाक्यबाट गाइएका गीतहरुको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
जनकवि दुर्गालाल र जनकलाकार भृगुराम श्रेष्ठले संयुक्त रुपमा गीतहरुको लोकार्पण गर्नुभयो ।
सार्वजनिक गरिएका गीतहरुको बारेमा संगीतकर्मी साथै म्यूजिक भिडियो निर्देशक रामकृष्ण खड्गीले आफ्नो विचार राखेका थिए ।
लोकार्पण गरिएका गीतहरु मनराजा नकर्मी यूट्युब च्यानलमा अपलोड गरिएका छन् ।
Categorized in पेजथ्री