भीम तुलाधरको ‘दोष’ भोलि सार्वजनिक हुँदै
SamacharDesk – बिराज | २०७८ जेठ १७, सोमबार

नेपालका चर्चित पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने भएको छ ।
गायक तुलाधरले आफ्नो फेसबुक वालमार्फत भोलि म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको घोषणा गरेका हुन् । भोलि जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न लागिएको हो ।
नेपाली संगीत क्षेत्रमा पप किंगसमेत भनिने वरिष्ठ गायक ओम विक्रम विष्टबाट म्यूजिक भिडियोको लोकार्पण हुने गायक तुलाधरले जानकारी दिनुभयो ।
तुलाधरको यो गीत पहिलो पटक २०४८ सालमा जिजिविषा एल्बममा प्रकाशन गरेका थिए । पहिलो पटक भुपालमान सिंहले अरेंज गरेको यो गीतलाई भुपेन्द्र बज्राचार्यको अरेंजमा तुलाधरले फेरी गाएका हुन् ।
‘जिजिविषा एल्बम निकाल्दा यो गीत निकै लोकप्रिय भएको, धेरैले मन पराएको गीत हो, यो गीत मलाई आफैंलाई मनपर्ने गीत हो, त्यसैले अहिलेको ट्रेन्ड अनुसारको म्यूजिक अरेंजमा फेरी रेकर्ड गरेको हो’ तुलाधरले भन्नुभयो ।
हालसम्ममा दर्जन बढि सोलो एल्बम बजारमा ल्याइसकेका तुलाधरको सपनीमा र जिजिविषा एल्बम निकै लोकप्रिय रहेको थियो ।
‘दोष’ गीतका रचना कविन्द्रमान शाक्य ओमहरि श्रेष्ठले गरेका छन् भने संगीत गायक तुलाधरकै रहेको छ ।
भोलि सार्वजनिक हुन लागेको म्यूजिक भिडियोका परिकल्पनाकार र निर्देशक रवि सायमि हुन् । भवानी शिलाकारको छायाङ्कन निर्देशन रहेको भिडियोको एडिटिङ वाइल्ड बुल्स प्रोडक्सनको रहेको छ ।
गीतमा मोडलहरु निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले अभिनय गरेका छन् ।
Categorized in पेजथ्री