बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता
SamacharDesk – बिराज | २०८३ जेठ १३, बुधबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।
कापमा वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज (बुधबार) १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो भने यसरी बोलाइएकामध्ये ३४ जनाले बचत फिर्ता लिएका छन् ।
सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ ।
‘ठुला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरुलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै जाने तयारीमा छौँ’ सहकारी संस्थाका उपाध्यक्ष रविन लामाले भने ।
सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।
काठमाडौँ महानगरपालिका भित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा रहेको र एक हजार १८६ वटा संस्था सम्पर्क बाहिर रहेको विभाग प्रमुख काफ्लले बताए ।
महानगरपालिकाको सहकारी विभागले वडा महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्ध्दन तथा सुशासन कायम राख्न सहयोग तथा समन्वयको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ ।
यस कामका लागि वडा महिला सजालका संयोजक र सदस्यहरुको सम्लग्नता रहनेछ ।
मेलमिलाप तथा छलफलका लागि सहकारी संस्थाको तर्फबाट सहकारी संस्थाका प्रतिनिधि, ऋणीका हकमा स्वयं ऋणी तथा बचतकर्ताका हकमा स्वयं बचतकर्ता सहभागी हुनेछन् ।
यसका लागि काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भइ सम्बन्धित वडा क्षेत्रमा पर्ने सहकारी संस्था सम्बन्धी बचतकर्ताको बचत रकम फिर्ताको एकल वा संयुक्त निवेदन लिनेछ ।
सहकारी संस्था वा ऋणीलाई एसएमएस पोर्टलबाट वा पत्राचारका माध्यमबाट सम्पर्क गरेर बोलाउनेछ ।
Categorized in बिजनेस




