क्यालिग्राफी महाेत्सवमा क्यालिग्राफी एपकाे शुभारम्भ
SamacharDesk – बिराज | २०८१ भाद्र १८, मंगलबार

नेपाली क्यालिग्राफीको विकास र प्रवर्द्धनको लागि भन्दै आयोजित ’नेपाल अक्षर’ नामक कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ ।
नेपाल क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करणको रूपमा ‘क्यालिग्राफी नेपाल’ र ‘क्यालिजात्रा’को संयुक्त आयोजनामा ‘नेपाल अक्षर’ कार्यक्रम गत शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।
महोत्सवमा भारतबाट आएका ३ जना कलाकारहरूको विशेष सहभागीतासहित ४० बढी कलाकारहरूले आफ्नो श्रृजना प्रदर्शन गरेका थिए ।
दुई पटकको अन्तर्राष्ट्रिय क्यालिग्राफी प्रतियोगिता विजेता अनिल थामनको कला प्रदर्शनी र कार्यशाला महोत्सवको विशेष आकर्षणको रूपमा रहेको थियो ।
महोत्सवमा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रत्यक्ष क्यालिग्राफी प्रदर्शन गरेकी थिइन् । उपप्रमुख डंगोलले आफ्नो प्रस्तुतीमार्फत नेपाली लिपि र कलाको महत्त्वलाई उजागर गरेकी थिइन् ।
महोत्सवमा युवा क्यालिग्राफरहरूले ‘अब्स्ट्राक्ट क्यालिग्राफी’ र ‘क्यालिग्राफिटी’ को प्रयोग गरेर नेपाली लिपि र कलालाई नयाँ शैलीमा प्रस्तुत गरेका थिए ।
महोत्सवले नेपाली क्यालिग्राफीको क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने प्रयासलाई अझ सशक्त बनाएको दावी आयोजक संस्थाको दावी रहेको छ ।
महोत्सवमा नयाँ ‘क्यालिग्राफी एप’ को पनि शुभारम्भ गरिएको थियो । नेपाली लिपि र अक्षर कलालाई डिजिटल माध्यमबाट सिक्न र अभ्यास गर्न चाहनेहरूका लागि यो एप उपयोगी हुने बताइएको छ ।
एपमा उपलब्ध नेपाली लिपिहरू, अक्षर डिजाइनहरू र कलात्मक शैलीहरूले प्रयोगकर्ताहरूलाई नेपाली क्यालिग्राफीको क्षेत्रमा आफ्नो सीप सुधार्न सहयोग पुर्याउने दावी गरिएको छ ।
महोत्सवले नेपालका युवा कलाकारहरूलाई नेपाली लिपि र अक्षर कलाको क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्न प्रेरित गरेको आयोजकहरूले बताएका छन् ।
