कम लागतमा चन्द्रमामा पुगेको चन्द्रयान–३
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ७, बिहिबार

भारतको चन्द्रयान–३ कम लागतमा चन्द्रमामा पुगेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले निकै कम लागतमा अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको विभिन्न अन्तर्राष्ट्रय संचार माध्यमले उल्लेख गरेको हो ।
यसअघि चन्द्रमामा पुगेको रसियाको लुना–२५ को लागत २०० मिलियन डलर रहेको थियो । लुना–२५ केहि दिन अघि मात्र चन्द्रमामा अवतरण गर्ने क्रममा विस्फोट भएको थियो ।
सन् २०१८ मा चन्द्रमा पुगेको चाइनाको च्यांगज्–३ को लागि ११ विलियन डलर खर्च भएको बताएको छ । यस्तै चन्द्रमामा अवतरण गरेको अमेरिकाको एपोलोको लागि भने २५.८ विलियन डलर खर्च गरिएको थियो ।
तर भारतको चन्द्रयान–३ परियोजनाको लागि भारतले मात्र ७५ मिलियन डलर अर्थात ६ सय १५ करोड भारु (१० अर्ब नेपाली रुपैयाँ) खर्च गरेको रिपोर्टहरुले उल्लेख गरेको छ ।
यो लागत केहि समय अघि प्रदर्शनमा आएको भारतीय चलचित्र आदिपुरुषभन्दा पनि सस्तो लागत हो । आदिपुरुष निर्माण गर्दा ७ सय करोड भारु खर्च भएको अनुमान बताइएको थियो ।
यस्तै यो परियोजना हलिउडका पछिल्ला ब्लकबस्टर चलचित्रहरु ओप्पेन्हेइमेर र बार्बीको निर्माण खर्चभन्दा पनि सस्तो बनेको छ ।
ओप्पेन्हेइमरका लागि करिब १०० मिलियन डलर र बार्बीका लागि करिब १४५ मिलियन डलर खर्च गरेका थिए ।
इसरोका इन्जिनियरिङ कौशल र लागत बचत उपायहरुको प्रमाण स्वरुप थोरै लागतमा चन्द्रयान–३ सफल भएको बताएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुव नजिकै छोएर चन्द्रमामा सफलतापूर्वक यान अवतरण गराउने चौंथो देश भारतले नयाँ इतिहाँस रचेको छ । यस्तै दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश हो । भारतको अन्तरिक्ष कार्यक्रमको लागि चन्द्रयान–३ मिसन अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
चन्द्रमाको दक्षिणी ध्रुव निकै कठिन र अँध्यारो भाग भएकाले चन्द्रयान–३ मिसनका लागि ठूलो चुनौती थियो । तर, इसरोले यी चुनौतीहरुलाई पार गर्दै अन्तरिक्ष यानलाई बुधबार साँझ नेपाली समयअनुसार ६ः१८ मा सफलतापूर्वक अवतरण गराएको थियो ।
यो परियोजनाको मुख्य उद्देश्य नै चन्द्रमामा पानीको बरफको फेला पार्नु हो ।
जसले निकट भविष्यमा मानवका लागि चन्द्रमा उचित वासस्थान हुन्छ वा हुँदैन भन्ने निश्चित गर्नेछ ।
चन्द्रमाको दक्षिण ध्रुव सधैं अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफ हुने सम्भावना उच्च भएको अनुमान गरिएको छ ।
चन्द्रयान–३ सफल भएसँगै अब मानवयुक्त मिसनसहित चन्द्रमामा भविष्यका मिसनहरुको लागि मार्ग प्रशस्त गरेको इसरोका वैज्ञानिकहरूले बताएका छन् ।
Categorized in विज्ञान-प्रविधी