arin enterprises

चाँगु नारायणको कलश यात्रा सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ४, मंगलबार

चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ ।

पौष शुक्ल पूर्णिमाको दिनमा भक्तपुर जिल्लाको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराउने गरिन्छ । दायाँबायाँ लक्ष्मी र सरस्वतीको कलशसँगै चाँगुनारायणको कलशलाई चाँगुनारायण ल्याउने गरिन्छ ।

यसपटक चाँगुनारायणका पूजारी आभास धरानन्द राजोपाध्यायले कलश बोकेका थिए । चाँगुबाट बिहान सुरु भएको कलशयात्रा डाँछी, गोकर्णबाट जोरपाटी हुँदै चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै रानीपोखरी छेउमा रहेको एउटा पाटीमा पुर्‍याइएको थियो ।

सो पाटीमा पूजारी राजोपाध्यायले विधिवत् पूजा सम्पन्न गरेपछि गुरुज्यू पल्टनको बढाइँका साथ जमलबाट असन, इन्द्रचोक हुँदै कलशलाई हनुमानढोका दरवार पुर्‍याइएको थियो ।

हनुमानढोका पुगेको कलशलाई जीवित देवी कुमारीलाई साक्षी राखेर तलेजु भवानीका भुजाहारी हरिओम पति राजोपाध्यायले ‘लसकुस’ गरी भित्र्याएका थिए ।

लसकुसको अर्थ खासमा स्वागत गर्नु हो । कुनै पूजा वा धार्मिक कार्य विशेषमा विधिवत रुपमा भित्र्याउने चलनलाई पनि नेवाः समाजमा ‘लसकुस यायेगु’ भनिन्छ ।

चाँगु नारायणको कलश हनुमानढोका पुग्दा त्यहाँ माटाका भाँडाकुडाहरु फुटाउने चलन रहेको छ । माटाका भाँडाहरु फुटाउनु भनेको अशुभको संकेत र अशुभ देखेपछि नारायण भगवान चाँगु नफर्की हनुमानढोकामै बस्ने विश्वास रहेको छ ।

कलशलाई हनुमानढोका दरवार तलेजु मन्दिर परिसर भित्र लगिसकेर त्रिशुल चोकसँगै जोडिएको चोकमा विधिपूर्वक कलशको पूजा गरिएको थियो ।

त्यसपछि राष्ट्रपति भवन शितलनिवास लगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई छायाँ दर्शन गराइएको थियो । कलशयात्राको क्रममा राष्ट्रप्रमुखलाई छायाँ दर्शन गराउने चलन रहेको छ ।

विगतकामा राजतन्त्रको समयमा राजालाई छायाँ दर्शन गराउने गरिन्थ्यो भने अचेल राष्ट्रपतिलाई दर्शन गराउने गरिएको छ ।

हनुमान ढोकामा कलशको पूजा सम्पन्न भइसकेपछि त्रिशुल चोकमा धुनी बाल्ने परम्परा पनि रहेको छ । हनुमान ढोकामा बालेको सो धुनीको धुवाँ चाँगुनारायणवासीले देख्ने र कलश हनुमानढोका पुगेको जानकारी पाउने भनिआएको छ ।

चाँगुनारयणको कलश वर्षमा दुई पटक हनुमानढोका ल्याइन्छ । साउन शुक्ल द्वादशीको दिनमा पनि कलश हनुमानढोका ल्याउने गरिन्छ । तर यो बेलामा भने माटाका भाँडाकुडा फुटाउने गरिन्न ।

फोटो ग्यालरी : चाँगु नारायण कलश यात्रा फोटो फिचर
Categorized in संस्कृति