arin enterprises

सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ ७, बिहिबार

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निशुल्क सटल बस सेवा विस्तार गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।

निर्देशन लगत्तै सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराएका हुन् ।

सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको हो ।

विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा सटल बस सेवा विहिबारदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन हुने जानकारी गराइएको छ ।

पछिल्लो समय काठमाडौंबाट दैनिक नियमित उडान हुने र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको संख्या बढ्दै जाँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो ।

यही अवस्थालाई सहज बनाउन सटल बस सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव निरौलाले बताएका छन् । विमानस्थलबाट बजारसम्म पुग्न महँगो निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यता कम हुने विश्वास लिएको निरौलाले बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच थप व्यवस्थित हुँदा पर्यटन तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूको भनाइ छ ।

Categorized in बिजनेस