कक्षा १२ को नतिजा सार्वजनिक
SamacharDesk | २०८० श्रावण ३०, मंगलबार

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरका १ हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।
कक्षा १२ को नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।
३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ । परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् ।
गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको जनाइएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
Categorized in राष्ट्रिय