स्थानीय संस्कृति संरक्षणमा सहयोग गर्ने प्रदेश सभासदहरुको प्रतिवद्धता
SamacharDesk – बिराज | २०८० पौष १, आइतबार

वागमती प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुर क्षेत्र भ्रमण गरेका छन् ।
गत शुक्रबार प्रदेश सभा अन्तर्गतको समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुरमा कुमारीको दर्शन गरी कुमारीकै हातबाट टीका थाप्नुका साथै त्यस क्षेत्रको अवलोकन भ्रमण गरेका हुन् ।
समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुरको कुमारी घर, श्रीखण्ड तरुमूल महाविहार, काष्ठमण्डप, पुनर्निर्माणको अवस्थामा रहेको महादेव पार्वती मन्दिर, हनुमानढोकाको अवलोकन गरेका थिए ।
सो अवसरमा समितिकी सभापति याङकिला शेर्पाले काठमाडौंको स्थानीय संस्कृति, सम्पदा विश्वमै अनुपम रहेको बताइन् ।
‘काठमाडौं उपत्यकाको अनुपम, अद्वितीय सम्पदा संस्कृतिले नै नेपाललाई विश्वसामु चिनाएको छ । यसको संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दनमा प्रदेश सरकारले सक्दो पहल र सहयोग गर्नेछ’ पूर्व संघीय सभासद र पूर्वमन्त्रीसमेत रहेकी सभापति शेर्पाले भनिन् ।
भ्रमण कार्यक्रम वागमती प्रदेश सभासद् शैलेन्द्र बज्राचार्यको पहलमा भएको थियो । यहाँको स्थानीय सम्पदा, संस्कृति र यससँग जोडिएको पर्यटन उद्योगको सम्भाव्यताको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको सभासद् बज्राचार्यले बताए ।
‘यहाँको स्थानीय संस्कृति सम्पदा नेपालको पहिचान मात्र होइन, स्थानीय वासिन्दाको जीवनस्तरलाई नै उकास्ने माध्यम पनि हो । यसको बारेमा सभासद्हरु सचेत होउन् र प्रदेश सभामै यस विषयले प्रवेश पाएर योजना बनोस् भनेर यो कार्यक्रम गरिएको हो’ सभासद् बज्राचार्यले भने ।
सभासद् बज्राचार्यले वसन्तपुर क्षेत्रका विभिन्न स्थानहरुको ईतिहास, त्यस स्थानसँग जोडिएको परम्परा आदिको बारे सभासद्हरुलाई जानकारी गराएका थिए ।
समितिका सभापति, सदस्य लगायत करीब १४ जना प्रदेश सभासद्हरुले वसन्तपुर क्षेत्रको अवलोकन गरेका थिए । सो अवसरमा स्थानीय संघसंस्थाका प्रतिनिधि, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, स्थानीय संचारकर्मी लगायतको पनि उपस्थिती थियो ।
Categorized in राजनीति