arin enterprises

कन्सुलर सेवा अब अनलाईनबाट

SamacharDesk | २०८० चैत्र २२, बिहिबार

विदेशमा बसेका नेपालीहरुका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

कन्सुलर सेवा विभागले आजबाट सो सेवाको शुभारम्भ गर्दै गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाईन प्रणालीको सुरु गरेको छ ।

बिहीवार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै ब्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।

सेवाग्राहील उक्त कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने विभागले जनाएको छ । नयाँ मोड्युलले सबै नियोगहरुमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमीकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने पनि बताउनु भयो ।

यसैबीच चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म विभागले प्रमाणीकरणका लागि सेवा प्रवाह गरिएका सेवाग्राहीको संख्या ३ लाख ७२ हजार ४२९, अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिने सेवाग्राही संख्या ३ लाख ३ हजार ७५१, प्रमााणिकरण गरिएका कागजातको संख्या ४ लाख २९ हजार ७४५, अनलाइन कन्सुलर प्रमाणिकरण गरिएका कागजातको संख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरणबाट उठेको राजश्व रकम २१ करोड ६१ लाख ७७ हजार ५३९ रहेको बताएको छ ।

त्यस्तै विभागले आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म  प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबाट उठेको जम्मा राजश्व १५ करोड १८ लाख ७५ हजार ५ सय, अन्य कागजातबाट उठेको राजश्व ६ करोड २९ लाख ९७ हजार उठेको बताएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरुको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको संख्या ५ सय ९३, विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरु नागरिकहरुको क्षतिपूर्तिको रकम माग गर्न पठाइएको संख्या २०१, विदेशमा मृत्यु भएका नेपालीहरुको शव झिकाउने तथा विदेशमा दाहसंस्कार गरिएको संख्या १५२ रहेको जनाएको छ ।

Categorized in राष्ट्रिय