ठेकेदार सांसद्, सरकारकै संरक्षणमा गैरकानूनी कार्यले देश अराजकतातर्फ – प्रेम सुवाल
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २६, बुधबार
सांसद्हरू ठेकेदार हुनु र सरकारकै संरक्षणमा गैरकानूनी रूपमा प्लटिङहरू हुनुले देशलाई अराजकतातर्फ लगिरहेको प्रतिनिधिसभा सांसद् प्रेम सुवालले जनाएका छन् ।
आज भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता विषयमा जनप्रतिनिधिहरूले जनतालाई सचेत गराउनुपर्ने जनाएका हुन् ।
“सांसद्हरू ठेकेदार हुनु, सरकारको संरक्षणमा गैरकानूनी प्लटिङ हुनु, अयोग्य ठेकेदारमार्फत् असुरक्षित र कमजोर निर्माण हुनु आदि कारणले देश अराजकतातर्फ बढिरहेको छ,” उनले भने ।
संघीयताको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहहरूलाई स्वायत्तता प्रदान गर्नुपर्ने पनि उनले जनाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव पनि रहेका सुवालले अनावश्यक क्षेत्रमा अत्यधिक खर्च गरी पुँजी निर्माण नहुने जनाउँदै विभिन्न क्षेत्रहरूमा मितव्ययीता अपनाई देशका आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।
Categorized in राजनीति