arin enterprises

नयाँ संक्रमणको दर ४५ प्रतिशतकै हाराहारीमा

SamacharDesk – बिकाश | २०७८ बैशाख २९, बुधबार

नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ को नयाँ संक्रमणको दर ४५ प्रतिशतकै हाराहारीमा रहेको देखिन्छ । आज पनि परिक्षण संख्याको तुलनामा ४४ दशमलव ७६ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा कोभिड १९ का ९ हजार ३०५ जना नयाँ संक्रमित थप भएका छन् । २० हजार ३६२ आरटी पिसिआर परिक्षणमा ९ हजार २३८ जनामा र ४२४ एन्टिजेन परिक्षणमा ६७ जनालाई कोभिड संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका २३२ जना बालबालिका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ ।

विभिन्न संस्थागत साथै होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ ।

हाल १ लाख १ हजार ६३४ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ९४ हजार ३४३ जना संक्रमित होम आइसोलेसनमा छन् ।

विभिन्न संस्थागत आइसोलेसनमा रहेका ७ हजार २९१ जनामध्ये एक हजार २४१ जना आइसीयूमा छन् भने २८५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार ४४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेहरुको कुल संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।

गएको २४ घन्टामा थप १६८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा ४ हजार २ सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय