निको हुनेको संख्या धमाधम बढ्दै
SamacharDesk – बिकाश | २०७८ जेठ ६, बिहिबार

नेपालमा कोरोना संक्रमणको दोश्रो लहर तीव्र गतिमा फैलिँदै गइरहेकोमा पछिल्ला केही दिनमा यसमा कमी आएको देखिएको छ । केही दिनसम्म ४५ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा अहिले यो दर ४० प्रतिशतभन्दा तल देखिएको छ ।
आज परिक्षण संख्याको आधारमा ३७ दशमलव ६० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
२२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ८ हजार ३०५ जनामा संक्रमण देखिएको हो । २१ हजार ६९५ आरटी पिसिआर परिक्षणमा ९ हजार २२७ र ३९२ एन्टिजेन परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
थप हुने नयाँ संक्रमितमध्ये उमेर समूह अनुसार ९ वर्षसम्मका ३० जना बालबालिका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ३२ जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
हाल उपचाररत सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ रहेको छ । एक लाख ८ हजार ३८ संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ८१४ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा रहेका एक हजार ७४८ मध्ये ४९२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो समयमा आएर निको हुनेको संख्यामा पनि उल्लेख्य वृद्धि हुँदैछ । आज पनि साढे ६ हजार बढि संक्रमित संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा ६ हजार ५४३ संक्रमित संक्रमणमुक्त भएका छन् ।
हालसम्म ३ लाख ६६ हजार ९४६ जना संक्रमित निको भइसकेका छन् ।
थप १९० संक्रमितको मृत्युसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या ५ हजार ८४७ पुगेको छ ।
Categorized in राष्ट्रिय