arin enterprises

संक्रमण दर बढिरहँदा बढेन परिक्षण संख्या

SamacharDesk – बिकाश | २०७८ श्रावण ६, बुधबार

नेपालमा केही नियन्त्रणमा आउन थालिएको कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा फेरी बढ्न थालेको देखिएको छ ।

दिनहुँ संक्रमण दर बढ्दै गएको देखिएपनि कोरोना परिक्षण बढाउन तिर भने सरकारले खासै ध्यान दिएको देखिएको छैन ।

कोरोना संक्रमण फैलिन नदिन हालको लागि परिक्षण संख्या बढाएर संक्रमितको पहिचान गर्नु नै उत्तम उपाय भएको जनस्वास्थ्यविद् तथा स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् । तर सरोकारवाला निकायले भने परिक्षण बढाउनतिर चासो देखाएका छैनन् ।

बरु उल्दै दिनहुँ परिक्षण संख्या घटाउँदै लगेको देखिन्छ ।

विगतका दिनहरुमा दैनिक २५ हजारको हाराहारीमा परिक्षण हुने गरेकोमा अचेल दैनिक परिक्षण संख्या १५ हजार पनि पुग्न सकेको छैन ।

परिक्षण संख्याको साढे २२ प्रतिशत संक्रमित

पछिल्लो २४ घण्टामा पनि मात्र १२ हजार ६१६ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ ।

उक्त परिक्षणबाट २ हजार ८३८ जना नयाँ संक्रमित फेला परेका छन् । ८ हजार ७१५ आरटी पिसिआर परिक्षणबाट एक हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परिक्षणमा ९२० जना नयाँ संक्रमित भेटिएका हुन् ।

यो परिक्षण संख्याको आधारमा साढे २२ प्रतिशत हो ।

नयाँ संक्रमितमध्ये १० वर्षसम्मका बालिबालिका ६२ जना छन् भने १९६ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । हालसम्म नेपालमा ७ लाख २४ हजार ४५५ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित कोरोना भाईरसलाई हराउँदै संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना संक्रमित निको भएका छन् ।

होम आइसोलेसन र विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ । २४ हजार ३४० जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ४९२ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

६२७ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने तीमध्ये १७१ जना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

गएको २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ६३७ पुगेको छ ।

Categorized in राष्ट्रिय