मात्र ६ प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ आश्विन १९, मंगलबार

नेपालमा पछिल्लो समय गरिएको परिक्षणमा मात्र ६ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमणको यो दर पछिल्लो ६ महिनाकै कम हो ।
जम्मा १६ हजार ४२ वटा स्वाब नमूनाको परिक्षण गरिँदा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । ११ हजार ५८२ आरटी पिसिआर परिक्षणमा ७६२ जनामा र ४ हजार ४६० एन्टिजेन परिक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा दिनानुदिन नयाँ संक्रमणको दर कम हुँदै गइरहेको छ । जात्रापर्व र चाडबाडको भीडभाडका बीच पनि नयाँ संक्रमणको दर कमी आउँदै गर्दा महामारीबाट उन्मुक्ति पाइने आशा पनि बढ्दै गएको छ ।
यद्यपि, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र सचेत रहन चिकित्सकहरुले सुझाएका छन् । मास्क, स्यानिटाइजर र सामाजिक दुरीलाई ख्याल राख्नुका साथै पटक पटक साबुन पानीले हात धुन चिकित्सकहरुले सुझाव दिएका छन् ।
हालसम्म ४२ लाख ४५ हजार ६३८ वटा स्वाब नमूनाको परिक्षण गरिएको छ । कुल पिसिआर परिक्षणमा ७ लाख ९८ हजार ७६६ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै हालसम्म गरिएको ५ लाख ९७ हजार २ वटा स्वाब नमूनाको एन्टिजेन परिक्षणमा ९२ हजार ४५८ जनामा संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय