कोरोना संक्रमण निको हुनेको ४६ सय नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ १७, बुधबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या आज एकैपल्ट व्हात्तै बढेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा एकैपल्ट एक हजार ४ सय बढि संक्रमण निको भएका छन् ।
आजको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घन्टाभित्र एक हजार ४ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।
हिजोसम्म निको हुनेको संख्या ३ हजार एक सय ९४ थियो भने आजको संख्या समेत गरी संक्रमण निको हुनेको कुल संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।
यद्यपि मन्त्रालयले आज ४ सय ५२ जनाको मात्र विवरण सार्वजनिक गरेको छ । एक हजार जनाको विस्तृत विवरण आउन बाँकि रहेको प्रवक्ता डा. गौतमले बताएका छन् ।
आज सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो पटक संक्रमण निको हुनेको संख्या सबैभन्दा बढि प्रदेश ५ बाट रहेको छ । प्रदेश ५ बाट मात्रै ३ सय १६ जना निको भएका छन् ।
प्रदेश ५ का विभिन्न आइसोलेसन सेन्टरबाट कपिलवस्तुका १५ महिला र २ सय ८७ पुरुषको साथमा नवलपरासीका एक महिला र १३ पुरुष निको भएर घर फर्केका छन् ।
त्यसैगरी नीलकण्ठ आइसोलेसनबाट धादिङका ५ महिला र २९ पुरुष गरी ३४ जना र सुर्खेत प्रादेशिक अस्पतालबाट ५ महिला र २८ पुरुष गरी ३३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छने ।
कोभिड १९ अस्पताल सपही धनुषाबाट झापाका १८ पुरुष, साइकृष्ण आइसोलेसन सेन्टरबाट सप्तरीका १७ पुरुष, ज्वालामुखी आइसोलेसन सेन्टरबाट धादिङका दुई महिला र ९ पुरुष पनि डिस्चार्ज भएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट काठमाडौंका ३ पुरुष, सिन्धुलीकी एक महिला, सिन्धुपाल्चोक, खोटाङ, मोरङ, नुवाकोट, चितवन, भक्तपुर र दोलखाका एक÷एक पुरुष पनि कोरोना भाईरसलाई जितेर घर फर्केका छन् ।
साथमा, कलैया अस्पतालबाट बाराका ६ पुरुष र पाटन अस्पतालबाट ललितपुरकी एक महिला, भक्तपुरका दुई पुरुष, काठमाडौं र सिन्धुलीका एक÷एक पुरुष र चितवनकी एक महिला पनि निको भएका छन् ।
हिजोसम्म निको हुनेको दर २३.५४ प्रतिशत रहेकोमो आज यो व्हात्तै बढेर ३३.१४ प्रतिशतमा पुगेको छ ।
Categorized in समाज