arin enterprises

निको हुनेको दर ९८ प्रतिशत नजिक

SamacharDesk – बिकाश | २०७७ माघ ४, आइतबार

नेपालमा कोभिड १९ संक्रमण निको हुनेको दर ९८ प्रतिशतको नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा ९७ दशमलव ८ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् ।

हालसम्म जम्मा २ लाख ६७ हजार ३ सय २२ जनालाई कोरोना संक्रमण भएकोमा २ लाख ६१ हजार ४ सय ४४ जना भाईरसलाई परास्त गर्न सफल भइसके ।

पछिल्लो २४ घन्टामा कोभिड १९ का २ सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । ३ हजार ५ सय ८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ९१ जना महिला र एक सय ७५ जना पुरुषमा संक्रमण देखिएको हो ।

पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ६१ महिला र एक सय १६ पुरुष गरी एक सय ७७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये काठमाडौंबाट एक सय ४५, ललितपुरमा २३ र भक्तपुरमा ९ जना रहेका छन् ।

स्वाब नमूनाको जम्मा आरटी पिसिआर परिक्षण संख्या २० लाख १२ हजार ४ सय ५२ पुगेको छ ।

गएको २४ घन्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्ममा एक हजार ९ सय ५९ पुगेको छ ।

३ हजार ९ सय १९ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ८२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने २ हजार ८ सय ३७ जना होम आइसोलेसनमा छन् ।

सोलुखुम्बु, भोजपुर, नवलपरासी (पश्चिम), कालिकोट, रुकुमपश्चिम र मुगु गरी ६ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छन् । काठमाडौंमा हाल २ हजार २ सय ६४ सक्रिय संक्रमित उपचाररत छन् । 

Categorized in राष्ट्रिय