काठमाडौका विभिन्न स्थानबाट लागू औषधसहित ४ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष ६, सोमबार

काठमाडौंको खिचापोखरी र कोटेश्वरबाट गैर कानूनी लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।
काठमाडौंको खिचापोखरीबाट विभिन्न लागू औषधसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सप्तरी रुपनी गाउँपालिका–२ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव र ललितपुर महानगरपालिका–५ बस्ने ४३ वर्षीय सुरज केसी रहेका छन् ।
उनीहरुको साथबाट डाईजेपाम ६१ एम्पुल, बुप्रेनोर्फिन (नूफिन) १ सय २५ एम्पुल र फेनारगन १ सय २६ एम्पुल बरामद भएको छ ।
यसैगरी काठमाडौंको कोटेश्वरबाट पनि लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । सिराहा नवराजपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय धर्मदेव यादव र सोही ठाउँ बस्ने २५ वर्षीय चितरञ्जन यादवलाई प्रहरीले विभिन्न लागूऔषधसहित कोटेश्वरबाट पक्राउ गरेको हो ।
डाईजेपाम ४ सय ९७ एम्पुल, बुप्रेनोर्फिन ४ सय ९८ एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र नाईट्राजेपाम १२ सय ट्याबलेटसहित तिनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । घटना उपर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Categorized in अपराध