महिला साथीलाई ब्ल्याकमेल गर्ने दुई जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष ९, बिहिबार

आफ्नै महिला साथीको अश्लिल फोटोहरु साइटमा अपलोड गरी ब्याकमेल गर्न खोज्ने २ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर हेटौंडा उपमपा–४पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गापा–५ बारपाकका हाल ललितपुर गोदावरी नपा–११ चापागाउँ बस्ने २० वर्षीय रोलक वहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाइटीबाट खटिएको प्रहरी टोलीले ती दुई जनालाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको अश्लिल फोटो र भिडियोहरु वेबसाइटमा अपलोड गरी साइटबाट हटाउनको लागि पैसा माग्दै ब्ल्याकमेल गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अस्लमले ती महिलाको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा ई–मेलबाट पोर्न साईट समेतमा अपलोड गरेको र साइटबाट हटाउन १ हजार ९८ अमेरिकी डलर मागेको थियो ।
रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गर्ने र हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुवै उपर थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।
Categorized in अपराध