arin enterprises

मणिकेशव नारायण नित्य पूजाले निरन्तरता पायाे

SamacharDesk – बिराज | २०७८ कार्तिक २९, सोमबार

ललितपुरको मंगलबजारस्थित दरवारभित्रको केशव नारायण चोकमा अवस्थित मणिकेशव नारायण नित्य पूजा फेरी शुरु गरिएको छ ।

बोलीचालीको भाषामा केशव नारायण भनेर चिनिने मणिकेशव नारायणको नित्य पूजा करीब ४० वर्षपछि आजबाट शुरु गरिएको हो ।

आज हरिबोधिनी एकादशीको अवसरमा केशव नारायण चोकमै क्षमा पूजाको साथमा विष्णु रुद्री पाठ कार्यक्रमसमेत गर्दै नित्य पूजा शुरु गरिएको हो ।

पाटन संग्रहालय विकास समितिको विशेष पहलबाट पाटनको मणिछेँ ब्राम्हण समूहको सहयोगबाट आज मन्दिरमा नित्य पूजा थालिएको हो ।

क्षमा पूजाको क्रममा पाटन संग्रहालयका प्रमुख सुरेश लाखेले यजमानको रुपमा पूजा संकल्प गरेका थिए । त्यस्तै मणिछेँ ब्राम्हण समूहका तर्फबाट माधवश्याम शर्माले क्षमा पूजा सम्पन्न गरेका थिए ।

विष्णु रूद्री पूजा धनराजकान्त राजोपाध्यायले गरेका थिए भने उनलाई वर्षण शर्माले सघाएका थिए । त्यस्तै शिवेश शर्माले विष्णुरुद्री पाठ गरेका थिए । उद्धव कान्त आचार्यले भने विष्णु सहस्रनाम पाठ गरेका थिए ।

आज क्षमा पूजा सम्पन्न भएसँगै अब मणिछेँका देव ब्राम्हणहरुबाट यस मन्दिरमा दिनहुँ नित्य पूजा हुने भएको छ । यस मन्दिरमा विगत ४० वर्षदेखि विभिन्न कारणले नित्य पूजा हुन सकिरहेको थिएन । 

Categorized in संस्कृति