arin enterprises

नेपालीहरुको महान चाड दशैं शुरु

SamacharDesk – बिराज | २०७८ आश्विन २१, बिहिबार

आज आश्विन शुक्ल प्रतिपदा, आजबाट सम्पूर्ण हिन्दु नेपालीहरुको महान चाड बडादशैं शुरु भएकाे छ ।

आज सबैको घरघरको पूजा कोठामा जमरा रोपिन्छ । आजको दिनमा झिसमिसे बिहानमै नुहाइ धुवाइ गरी, हातगोडाको नङ काटी नजिकको नदी, खोला, वगरमा गई चोखो बालुवा ल्याइ पूजाकोठा अथवा दशैं घरमा राख्ने गरिन्छ ।

सोही माटोमा जमरा उमार्नको लागि मन्त्रोच्चारण गर्दै जौ छर्ने गरिन्छ ।

जौको साथमा कलश र महिषासुरको वध गर्दै गरेकी महिषमर्दिनी शक्तिकी अधिष्ठात्री माता दुर्गाको मूर्ति पनि स्थापना गरी शक्तिको उपासना गर्ने गरिन्छ ।

जमरा राखिएको स्थानसँगै नै एउटा घटमा पानी राखेर घट अथवा कलश र सो कलशसँगै दुर्गा भवानीको मूर्ति राखिन्छ । जमरालाई माता दुर्गाको प्रिय वनस्पतिको रुपमा लिइन्छ । त्यसैले पनि दुर्गासँगै जमरा राख्ने गरिएको हो ।

कलश वरपर नौ शक्तिको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ ।

आजबाट प्रत्येक दिन दुर्गा भवानीको विभिन्न नौवटा रुपको पूजा गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनमा शैलपुत्री, द्वितीयामा ब्रम्हचारिणी, तृतीयामा चन्द्रघण्टा र चतुर्थीको दिनमा कुष्माण्डाको पूजा गरिन्छ ।

त्यसैगरी  पञ्चमीको दिन स्कन्दमाता, षष्ठीमा कात्यायनी, सप्तमीमा कालरात्री, अष्टमीमा महागौरी र नवमीको दिन शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ ।

पूजा कोठामा स्थापना गरिएको घटमा पञ्चपल्लवको पात चढाइ सृष्टि, सुरक्षा र संहारको प्रतिकको रुपमा शक्तिस्वरूपा महासरस्वती, महालक्ष्मी र महाकालीको पञ्चोपचारले पूजाआजा गरिन्छ ।

कौल परम्पराका अनुयायीहरु भने आगममा कौलिक विधि अनुसार पूजा गर्ने गर्दछन् ।

पूजाको क्रममा सबैको घरघरमा साथै शक्तिपीठहरुमा शङ्ख फुक्दै, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पनि पाठ पढिन्छ ।

आज राखिएको जौमा दिनहुँ पानी हाल्दै वैदिक विधि अनुसार पूजा गर्ने गरिन्छ । दशमीको दिन विसर्जन पूजा गरी सोही जमरा र दुर्गाको प्रसाद घरको मूलीले परिवारका सदस्य सबैलाई दिने गरिन्छ ।

आजबाट खुल्ला चौर वा मैदानमा पिङ राखेर चचहुइँ गर्दै पिङ खेल्न पनि शुरु हुन्छ । दशैंको दौरानमा एक पटक भएपनि भूमि छोड्नुपर्ने मान्यता अनुसार यसरी पिङ खेल्ने गरिएको हो ।

त्यसैगरी दशैंकै बेलामा चङ्गा उडाउँदै रमाईलो गर्ने पनि गरिन्छ ।

दशैंलाई सारा परिवार, साथीभाई भेला हुने अवसरको रुपमा पनि लिइन्छ । यस पर्वमा टाढा बसेका वा विदेशमै रहेकाहरु पनि फर्केर घर आउने गर्दछन् र सँगै बसेर दशैं मनाउने गर्छन् । 

Categorized in संस्कृति