arin enterprises

आज जुन ४, बालबालिकामाथि अत्याचार विरुद्ध दिवस मनाईँदै

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २२, बिहिबार

आज जुन ४ तारिख, ‘बालबालिकामाथि अत्याचार विरुद्धको दिवस ।’

आजको दिन विश्वभरीमा बालबालिकामाथि शारिरीक वा मानसिक कुनै पनि किसिमका अत्याचारको विरुद्ध आवाज उठाउँदै यो दिवस मनाउने गरिन्छ ।

प्राय पुरै विश्वमा कोरोना संक्रमणको महामारी र नेपालमा पनि लकडाउन जारी रहेको अवस्थामा यो दिवसमा आज नेपालमा कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन ।

बालबालिकामाथि अत्याचारको विरुद्ध र बाल अधिकारको पक्षमा आवाज उठाउँदै आएका संघसंस्था र अभियन्ताहरुबीच विभिन्न भच्र्युअल संवाद कार्यक्रम भने भएको छ ।

जुन २ लाई बालबालिकामाथि अत्याचार विरुद्ध दिवसको रुपमा मनाउने चलन सन् १९८२ देखि सुरु भएको हो । 

तत्कालिन समयमा ‘लेबानन वार’ चलिरहँदा थुप्रै बालबालिकाहरु युद्धको अनावश्यक यातना सहन बाध्य भए । 

यसपछि संयुक्त राष्ट्र संघको १९ अगस्ट १९८२ मा भएको सभाले हरेक वर्ष जुन ४ को दिनलाई सो दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।

करीब ३८ वर्षदेखि यो दिवस मनाइरहँदा र बालबालिकामाथि अत्याचार विरुद्ध आवाज उठिरहँदा पनि बालबालिकाहरुमाथिको अत्याचारका घटनाहरु भने निरन्तर भइ नै रहेका छन् । 

नेपालमा १६ वर्ष मुनिका बालबालिकाको संख्या ४३ प्रतिशतको हाराहारीमा रहेको कन्सर्न नेपालका अध्यक्ष, बाल अधिकारकर्मी डा.विजय सैंजुको भनाई छ । संयुक्त राष्ट्र संघको मापदण्ड अनुसार १८ वर्ष मुनिकोलाई बालबालिका रुपमा हेर्ने हो भने यसको संख्या ४७ प्रतिशतको हाराहारीमा रहेको सैंजुले भन्नुभयो ।

‘यहाँ बालबालिकाको संख्या नै बढि भएकोले पनि बालबालिकामाथि अत्याचारका घटनाहरु बढि भएको पाइन्छ’ सैंजुको भनाई हो । ‘बालबालिकामाथि अत्याचारका घटना दिनहुँ बढदो देखिन्छ । सरकार गम्भीर हुनु आवश्यक छ ।’

नेपालमा १८ लाखभन्दा बढि बालबालिकाहरु विभिन्न क्षेत्रमा मजदुरका रुपमा काम गरिरहेको अवस्था सैंजुले औंल्याउनुभयो ।

‘विपन्न वर्गका बालबालिकाको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न र उनीहरुको जीवनस्तर उकास्न सरकारले पाइला चाल्न ढिला गर्नुहुन्न’ डा. सैंजुको भनाई हो ।

विश्वरी कोभिड–१९ को महामारी र पुरै विश्व नै प्राय ठप्प भएको अवस्थामा पनि बालबालिकामाथि हत्या, बलात्कार लगायतका अत्याचारहरु भइरहेको छ । 

 

यस्ता बन्दाबन्दीको अवस्थामा झन् बालबालिकाहरु खतरामा रहेको अभियन्ताहरुले बताएका छन् । 

विद्यालय बन्द भई, घरमै बस्नुपर्ने र साथीभाईसँग खेल्न समेत नपाइने अवस्थामा परिवारले अनावश्यक गालीगलौज नगर्ने, विभिन्न रचनात्मक घरेलु कामहरुमा व्यस्त बनाउने, नयाँ नयाँ काममा वा खेलमा अभिभावकले साथ दिने गरेमा उनीहरुको शारीरिक, मानसिक, अवस्था राम्रो बन्दै जाने बाल मनोविद्हरुले सुझाव दिएका छन् ।

बन्दाबन्दीको बेलामा अरु नियमित रुपमा हुने क्रियाकलापहरु बन्द भएसँगै बालबालिका माथि हुने दुव्र्यवहार, हिंसा, आदिका घटनाहरु बढेको छ ।

रुकुम–जाजरकोटको नवराज विक हत्या प्रकरणमा एसईई परिक्षा दिन पर्खिरहेका एकजना समेतको हत्या भएको छ ।

त्यसैगरी यहि बेलामा विभिन्न स्थानहरुमा घरपरिवारबाटै बालिका बलात्कृत भएको घटना पनि बाहिर आए । 

नेपालको बालविवाहको औसत दर ४८.५ प्रतिशत छ, जुन निकै उच्च हो । 

बालविवाहसंगै बालबालिकाहरुमाथि हुने गरेको सामाजिक दुव्र्यवहार, यौन हिंसा, बलात्कार, आदि लगायतका घटना बढिरहेको तथ्यांकले बताउँछ ।

विभिन्न किसिमका यातनाबाट प्रताडित भएर बालबालिकाले आत्महत्यासम्म गरेका घटना पनि नभएका होइनन् ।

र केही दिन अघिमात्रै कमजोर आर्थिक अवस्थाका कारण पाल्न नसक्ने भन्दै भख्खर जन्मेको शिशुको हत्या आमाले नै गरिदिएको घटना समेत भएको थियो ।

नेपालमा बालबालिकामाथि अत्याचाका घटनाहरुको अवस्था विकराल छ ।’ डा. सैंजुले भन्नुभयो । ‘बाल अधिकार सुनिश्चितताको सवालमा, बालबालिकामाथि हुने शोषण, अत्याचार न्यूनीकरण गर्ने सवालमा सरकार उदासीन नै देखिएको छ । भविष्यका कर्णधारहरुको अधिकारको सुनिश्चितताको लागि सरकारले ठोस कदम चाल्नको लागि म आग्रह गर्दछु ।

Categorized in समाज