arin enterprises

कोरोना संक्रमित मृत्यु संख्या १३ पुग्यो

SamacharDesk – विकाश | २०७७ जेठ २४, शनिबार

नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेपछि मृत्यु संख्या १३ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा. विकास देवकोटाले दुई जना संक्रमितको मृत्यु पुष्टि गर्नुभयो ।

गत जेठ २१ गते मृत्यु हुने डोल्पाका ५८ वर्षीय पुरुषको आज आएको पिसिआर परिक्षणको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । 

मृत्यु हुने डोल्पा जगदुल्लाका पुरुष गत जेठ १६ गते सुर्खेतबाट गएर १८ गते डोल्पा पुगेका थिए  डोल्पा पुगेर क्वारेन्टाइनमा बसेका उनको जेठ २१ गते राती २ बजे मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको उनको स्वाबको पिसिआर परिक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए ।

मृतक व्यक्ति दमको रोगी भएको बताइएको छ ।

मृतकको कन्ट्याक्ट ट्रेसिङ र सहजीकरणको लागि कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानको टोली उतातिर हिँडिसकेको देवकोटाले बताउनुभयो ।

त्यसैगरी जेठ २३ गते मृत्यु भएकि धनगढीकी ५५ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

मृगौला रोगबाट पिडित उनी गत जेठ २३ गते डायलासिस गराउन सेती अस्पताल पुगेकी थिइन् ।

अस्पतालमा डायलासिस गर्दै गर्दा दिउँसोको करीब १२ बजेतिर उनको मृत्यु भएको थियो ।

सेती अस्पतालमा गरिएको स्वाब परिक्षणमा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनमा कुनै पनि किसिमको कोभिडको लक्षण नदेखिएको बताइएको छ ।

आज पुष्टि भएका यी दुई मृत्युमा पनि मृत्यु पछि मात्र संक्रमण पुष्टि भएको छ । 

नेपालमा कोरोना संक्रमितको अहिलेसम्म भएको १३ मृत्युमध्ये ११ वटामा मृत्युपछि मात्रै संक्रमण पुष्टि भएको हो ।

Categorized in समाज