ट्रम्पलाई पदबाट हटाउने प्रस्तावमाथि संसदमा वहस जारी
SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउनका लागि अहिले एक प्रस्तावमाथि वहस जारी छ ।
गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनलाई ट्रम्पले खुलेरै प्रचार प्रसार गरेर भड्काएको उल्लेख उक्त प्रस्तावमा गरिएको छ ।
प्रस्तावमा उप–राष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको जिम्मेवारी लिनुपर्नेसमेत उल्लेख गरिएको छ ।
सदनमा हाल २५ औं संशोधनको दफा ४ माथि बहस जारी छ । सदनमा बहुमत प्राप्त डेमोक्रेट्सले तत्काल संविधानको २५ औं संशोधनको प्रयोग गर्दै राष्ट्रपति ट्रम्पलाई यस पदको लागि अयोग्य घोषित गर्नका लागि पेन्सलाई आग्रह गरेको छ ।
के हो २५ औं संशोधन
२५ औं संशोधन अन्तर्गत शारीरिक वा मानसिक कुनै पनि रुपबाट राष्ट्रपति आफ्नो जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको खण्डमा उप–राष्ट्रपतिलाई राष्ट्रपति बन्ने अधिकार प्राप्त हुन्छ ।
प्रस्ताव पारित भएमा उप–राष्ट्रपतिले आफ्नो जिम्मेवारीका लागि राष्ट्रपति योग्य नभएको उल्लेख गर्दै संसद अध्यक्ष र माथिल्लो सदन सीनेटका अध्यक्षलाई पत्र लेख्नुपर्ने हुन्छ । यसपछि उप–राष्ट्रपति तत्काल राष्ट्रपति बन्नेछन् ।
यद्यपि राष्ट्रपतिलाई यसबारे लिखित जवाफ दिने मौका दिइनेछ ।
सीनेट र तल्लो सदनमा राष्ट्रपतिलाई हटाउनका लागि प्रस्ताव पारित गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता पर्दछ ।
Categorized in अन्तर्राष्ट्रिय