सुरक्षित र दीगो तरिकाले सार्वजनिक यातायात सुचारु गर्न माग
SamacharDesk – विकाश | २०७७ आषाढ ७, आइतबार

यातायात क्षेत्रका सरोकारवालाहरूले नेपालको अर्थतन्त्र, रोजगारी र सार्वजनिक सेवा सुचारु गर्न यातायात क्षेत्रलाई सुचारु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
यससँगै कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै यस क्षेत्रमा सुरक्षा र दीगोपन सुनिश्चित गर्नुपर्ने विचार उनीहरूले राखेका छन् ।
कल्प एकेडेमी र कान्तिपुर सिटी कलेजद्वारा आयोजित महामारीबीच सुरक्षित र दीगो यातायातसम्बन्धी एक वेबिनार कार्यक्रममा उक्त कुरामा विज्ञहरूले जोड दिएका हुन् ।
संयुक्त राष्ट्रसंघ दीगो विकास समाधान सञ्जाल (युएन एसडिएसएन) र संयुक्त राष्ट्रसंघ दीगो विकास लक्ष्य एकेडेमीको सहयोग रहेको कार्यक्रममा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सार्वजनिक यातायातमा केही आनीबानी भने परिवर्तन गर्नुपर्ने विज्ञहरूले सुझाए ।
कल्प एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्कीले नेपालमा यातायात व्यवस्थासम्बन्धी नीतिमा तुरन्त पुनर्विचार गर्नुपर्ने औँल्याए । यसबाट जनस्वास्थ्य सुरक्षाको ख्याल गर्दै आवतजावत, जीवनयापन र रोजगारीलाई सुचारु गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
जनस्वास्थ्य तथा स्वास्थ्य अर्थतन्त्रका विज्ञ डा. देवेन्द्र प्रसाद ज्ञवालीले यात्रुहरू तथा सेवा प्रदायकले पनि सुरक्षित बस्ने बानी अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
‘यातायातका सरोकारवाला पक्षले मास्क प्रयोग, भौतिक÷सामाजिक दूरी, निष्क्रमण र सम्पर्कबिना नै भुक्तानी गर्ने तरिका अपनाउनु पर्छ,’ उनले भने, ‘यसमा चुक्यौँ भने जनस्वास्थ्यमा ठूलो खतरा फैलिन्छ ।’
कोभिड–१९ बाट तीन–पाङ्ग्रे, माइक्रोबस वा मिनिबसजस्ता स–साना सवारी साधनको दिन अन्त भएको देखाउने डा. ज्ञवाली बताउँछन्, यसको सट्टा भेन्टिलेसनयुक्त ठूलो सवारी साधन चलाउनुपर्ने उनको राय छ ।
नेपाल अटोमोबाइल्स संघका महासचिव इ. आशिष गजुरेलले नेपालमा यातायात क्षेत्रको अवस्था प्रस्तुत गर्दै नोक्सानी व्यहोरेको यातायात व्यवसायीलाई यस्तो लकडाउनका बेला सहयोग गर्नुपर्ने बताउँछन् ।
सुरक्षा निर्देशिकासहित सडकमा सवारीलाई सुचारु गर्न प्राविधिक र आर्थिक सहयोग गर्नुपर्ने उनको राय छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक इ. गोगन बहादुर हमाल यस अवस्थामा यातायात क्षेत्रले व्यहोरेको नोक्सानीबारे सरकारलाई ज्ञात भएको बताउँछन् ।
कोभिड–१९ महामारीबीच सुरक्षित, दीगो र किफायती सार्वजनिक यातायातका लागि सरकारले रणनीति तयार गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाली राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमालले यातायात व्यवसायीहरूले हाल भोगिरहेको समस्या निराकरण गर्न तत्काल उनीहरूलाई राहत दिनुपर्ने बताए ।
‘हामी सवारी साधन चलाउन चाहन्छौँ तर त्यसका लागि सावधानी अपनाउनुपर्ने त छँदै छ, अझ १० वर्षभन्दा अघि तोकिएको दरमा हामीले चार लाख सवारी साधन चलाउन सक्छौँ त ? यसमा पनि पुनर्विचार गर्ने बेला आएको छ’ रिमालको भनाई थियो ।
कार्यक्रमका सहजकर्ता डा. दीपक विक्रम थापा क्षेत्रीले कोभिड–१९ को चुनौतीमा यातायात क्षेत्रको मोडालिटी परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमबारे जानकारी दिँदै कल्प एकेडेमीका परियोजना व्यवस्थापक इ. रवि खनालले सार्वजनिक यातायातमा सामाजिक दूरी कायम राख्ने र लकडाउन सार्वजनिक यातायातका लागि चुनौती भएको धारणा राखे ।
नेपालमा लकडाउनपछिका समयमा सुशासनमार्फत् इ–शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको वेबिनार सिरिजको यो चौथो शृङ्खला हो ।
Categorized in बिजनेस