arin enterprises

जसपामा फेरी विवाद चुलियो

SamacharDesk – बिराज | २०७८ जेठ ७, शुक्रबार

जनता समाजवादी पार्टी भित्रको विवाद फेरी एकपटक चुलिएको छ । केही दिन अघिबाट समाधान भएको देखिएको विवाद आज एउटै विषयमा दुई अध्यक्षको छुट्टाछुट्टै पत्र जारी भएपछि विवाद चुलिएको देखिएको हो ।

पार्टीले जेठ ८ र ९ गतेका लागि बोलाएको कार्यकारिणी समितिको वैठक सम्वन्धमा अध्यक्षद्वयबाट छुट्टाछुट्टै पत्र जारी भएको हो । आज पार्टीका एक अध्यक्ष महन्थ ठाकुरले पत्र जारी गर्दै वैठक स्थगित भएको बताएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले अर्को पत्र जारी गर्दै वैठक स्थगित नभएको भनेका छन् ।

अध्यक्ष ठाकुरबाट जारी पत्रमा कोभिड १९ को बढ्दो महामारीको अवस्थाका कारण अर्को सूचना नआएसम्मका लागि वैठक स्थगित भएको जनाएका छन् । त्यस्तै अर्का अध्यक्ष उपेन्द्र यादवबाट जारी पत्रमा भने वैठक स्थगित नभएको हुनाले सम्पूर्ण पदाधिकारी एवम् केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई वैठकमा उपस्थित हुन भनिएको छ ।

गएको जेठ ४ गते मात्रै अध्यक्षद्वयकै हस्ताक्षरसहित पत्र जारी गर्दै जेठ ८ र ९ गतेका लागि पार्टीको कार्यकारिणी समितिको वैठक बोलाइएको थियो ।

केही दिन अघि मात्रै पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी भित्रको समस्या पार्टी विधान अन्तर्गत रहेर नै समाधान गर्ने बताएका थिए । त्यस्तै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वातावरण बने अघि बढ्ने समेत बताएका थिए ।

अहिले फेरी यसरी एउटै विषयमा फरक निर्णयसहित अध्यक्षद्वयबाट छुट्टाछुट्टै भनाई सार्वजनिक हुँदा फेरी एकपटक पार्टीमा विवाद चुलिएको प्रष्ट भएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082