arin enterprises

अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगे नेपाली मूलका दिवेश

SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख २९, सोमबार

विश्वप्रसिद्ध गायन प्रतिभाको खोजी गर्ने रियालिटी शो, अमेरिकन आइडलको उपाधी होडमा नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ट सातमा पुग्न सफल भएका छन् ।

आइडलको १८औँ संस्करणको उपाधि यात्रामा अघि सरेका दिवेश उत्कृष्ट सात भित्र पर्न सफल भएका हुन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वा्धिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो ।

टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । 

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा दिवेशले एनिमेटेड चलचित्र ‘द लिटल मर्मेड’को ‘किस द गर्ल’ गीत गाएका थिए । 

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरिरहेका हुन् । 

काठमाण्डौँको रविभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकाको कान्ससमा आफ्नो परिवारसँग बस्दै आएका छन् ।

अमेरिकामा ‘मदर्स डे’ मनाइदै छ । यसै सन्दर्भमा टप फाइभका लागि दिइएको प्रस्तुतिपछि अर्को चरणमा सातै जनाले आफ्नो आमालाई सामुन्ने राखेर गीत गाएका थिए । 

दिवेशले बोन इभरको ‘हे माँ’ बोलको गीत आमालाई सुनाएका थिए ।

अघिल्लो श्रृङ्खलामा झै यस पटक पनि प्रतियोगीहरुले घरबाटै प्रस्तुति दिएका थिए ।

आजको प्रस्तुतिपछि भोटिङको आधारमा ७ प्रतियोगीहरु मध्ये ५ जना फाइनलमा पुग्नेछन् । फाइनल भने अर्को साता मे १७ मा हुनेछ ।

नेपाली मूलका दिवेश टप ७ मा पुगेसँगै नेपालमा पनि यसप्रति चासो बढेको छ ।

अमेरिकन आइडलमा भोट दिने, ३ तरिका छन् । एस.एम.एस. भोटिङ, अमेरिकन आइडलको मोबाइल एपमार्फत र अमेरिकन आइडलको वेबसाइटबाट पनि भोटिङ गर्न सकिन्छ । 

प्रत्येक भोटरले १० वटासम्म भोट दिन सक्नेछन् । तर यो कार्य अमेरिका भित्रबाट मात्र गर्न मिल्छ ।

Categorized in पेजथ्री