पाटन तलेजुमा मूल पूजारी प्रवेश गराइयो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ ५, मंगलबार
अन्ततः गत पुस २१ गतेबाट रिक्त रहेको पाटन तलेजुको मूल पूजारी पद पूर्ति भएको छ ।
पाटन पट्को टोलका भास्करानन्द राजोपाध्यायलाई मूल पूजारीको रुपमा तलेजु प्रवेश गराएसँगै रिक्त पदको पूर्ति भएको हो । असार २ आइतबार तलेजुको बुसादँ (वर्षवर्द्धन) पूजाका अवसरमा राजोपाध्यायलाई तलेजु प्रवेश गराइएको हो ।
मूल पूजारीको मन्दिर प्रवेशको क्रममा तलेजु पूजारीहरुबाट स्वस्तिवाचन गरिएको थियो ।
तलेजु पूजारीहरु विष्णुचन्दन राजोपाध्याय, विनोद ज्वालानन्द राजोपाध्याय, निरण ज्वालानन्द राजोपाध्याय, ॐ ज्वालानन्द राजोपाध्याय, सुचित ज्वालानन्द राजोपाध्याय र रक्षण राजोपाध्यायले स्वस्तिवाचन गरेका थिए ।
मूल पूजारी तलेजु प्रवेशको क्रममा मूल पुजारीबाट तलेजु भवानी र गणेश, कृष्ण, मच्छिन्द्रनाथ, द्विमाजुसहित १२ भाग ग्वय्दां (सुपारी र पैसा) चढाइएको थियो ।
अन्य आठ भाग ग्वयदां भने विभिन्न तान्त्रिक देवीदेवतालाई चढाइएको थियो, जुन सार्वजनिक नगरी गोप्य नै राखिन्छ ।
यो प्रक्रिया गुठी संस्थान शाखा कार्यालय ललितपुर प्रमुखको रोहबरमा गर्ने गरिन्छ । यस वर्ष भने तलेजु पूजारीहरुको निमन्त्रणामा पाटन संग्रहालय अधिकृत सुरेश लाखेको पनि उपस्थिती रहेको थियो ।
सो अवसरमा गुठी संस्थान ललितपुर शाखाका लेखापाल राजेन्द्र पोखरेल, दरवार हेरचाह तथा संरक्षण कार्यालय ललितपुरका मञ्जुसिंह भण्डारी, तलेजुका पूजारीहरुको पनि उपस्थिती थियो ।
गत २०८० पुस २१ गतेका दिन पाटन तलेजु भवानीका तत्कालीन मूल पूजारी अनन्त ज्वालानन्द राजोपाध्यायको निधन पछि उक्त पद रिक्त रहँदै आएको थियो ।
पाटन तलेजुका वर्षवर्द्धन पूजा सम्पन्नः
मूल पूजारीको मन्दिर प्रवेशसँगै सोही दिन पाटन तलेजु भवानीको वर्षवर्द्धन पूजा पनि सम्पन्न गरिएको थियो ।
वर्षवर्द्धन पूजाको क्रममा कुशकुन्डिका यज्ञसहित तलेजु मन्दिरमा भएका समस्त देवीदेवता प्रतिष्ठा गरिन्छ । साथमा मूलपुजारीबाट छाग बलिसहित तलेजु भवानीको पूजा गर्ने गरिन्छ ।
यस वर्ष तलेजु भवनीको ४०४औं वर्षवर्द्धन पूजा गरिएको थियो ।
देवीदेवता स्थापना भएको दिनमा वर्षवर्द्धन पूजा गर्ने परम्परा रहेको छ । यसैको आधारमा पाटनमा तलेजु भवानीको स्थापना गरिएको ४०४ वर्ष पुगेको प्रष्ट हुन्छ ।
Categorized in संस्कृति