श्वेतकाली १२ वर्षे जात्रा – देवताकै रुपमा मृत्यु भएको ईतिहासमै पहिलो घटना
SamacharDesk – बिराज | २०८० पौष २३, सोमबार

गएको बिहिवार पाटन दरवार स्क्वाएर मंगलबजारमा भीड थियो, श्वेतकालीको १२ वर्षे जात्रामा देवीनाच हेर्नेको । आम सर्वसाधारण देवीनाच हेर्न त्यहाँ पुगेका थिए भने लाईभ गर्ने, फोटो, भिडियो खिच्ने संचारकर्मीहरुको पनि उपस्थिती बाक्लै थियो ।
जगत उद्धारका लागि शक्ति स्वरुपाले दर्शन दिएको दिनको रुपमा हरेक वर्ष पाहांचःर्हे (चैत्र कृष्ण चतुर्दशी) का दिन नरदेवीस्थित देवीको डबलीमा देवी नाच प्रदर्शन गर्ने परम्परा रहेको छ ।
१२ वर्षे देवीनाचको क्रममा काठमाडौंको विभिन्न प्राचीन डबलीको साथमा मल्लकालीन राज्यहरु ललितपुर, कीर्तिपुर, भक्तपुर, बनेपाका प्राचीन दरवारको डबलीसमेत गरी १२ स्थानमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ ।
यसै क्रममा ललितपुरको डबलीमा भने बुधवार राति र विहिबार दिनमा देवी नाच प्रदर्शन गरिएको थियो ।
करीब १२ बजेतिरको समय थियो, भैरव बनेका राम महर्जन बाजाको तालमा नाच्दै थिए । नाच्दानाच्दै एकाएक उनी टक्क रोकिए, र भुईँमा दंग्रगै ढले ।
भैरव बनेका राम महर्जनले आफुलाई अलि सन्चो नभएको कुरा विहानै भनिरहेका रहेछन् । तैपनि परम्पराको निरन्तरताका लागि उनी नाचे
दर्शकहरु, संचारकर्मीहरु सबै आत्तिए । देवीनाच गुठीका गुठीयारहरु दौडेर आए र भैरव बनेका राम महर्जनलाई उठाएर लिएर गए । के भएको हो अथवा के हुन लागेको हो कसैलाई थाहा छैन ।
भैरव बनेका राम महर्जनले आफुलाई अलि सन्चो नभएको कुरा विहानै भनिरहेका रहेछन् । तैपनि परम्पराको निरन्तरताका लागि उनी नाचे ।
नाच्दानाच्दै राम ढलेपछि नाचलाई निरन्तर गर्नुपर्ने बाध्यताका बीच गुठीयारहरुबीच देवगणका अर्का एक पात्र भैरव बनेर नाचे ।
रामलाई भने उठाएर अस्पताल दौडाइयो । अस्पताल पुग्दा चिकित्सकले उनको नाडी छामे, मुटुको चाल जाँचे । त्यसपछि दुःखद कुरा सुन्नुपर्यो ।
चिकित्सकले उनको निधन भइसकेको घोषणा गरे । नाच्दानाच्दै हृदयघात भएका कारण रामको मृत्यु भएको रहेछ ।
जात्राको निरन्तरताको बाध्यतामा केही दिन भने उनको निधनको खबरलाई गोप्य नै राखिएको थियो । आइतबार जात्रा सम्पन्न भएसँगै राम महर्जनको निधनको खबर सार्वजनिक भएपछि सामाजिक संजालमा उनलाई श्रद्धान्जली दिनेको संख्या बढ्दो छ ।
मखन निवासी राजन महर्जनले दिवंगत महर्जनलाई श्रद्धान्जली दिँदै यसलाई ईतिहासकै पहिलो घटना भनेका छन् ।
राजन लेख्छन्, ‘दिवङ्गत आत्माको भैरव लोकमा बास होस् शोकाकुल परिवारजनहरु धैर्य धारण गर्न सकोस भनी कामना गर्दछौं । शायद देवगण नाच अन्तर्गत वस्त्र र मुकुट धारण गरि नृत्यकै क्रममा निधन भएको इतिहासमै यो पहिलो घटना होला ।’
श्वेतकाली देवीनाच गुठीका एक गुठीयार साथै देवगणका एक सदस्य मचाराजा डंगोलले पनि हजारौं वर्षको देवीनाचको ईतिहासमा यो पहिलो घटना भएको दावी गरे ।
‘हजारौं वर्ष भयो यो नाच चल्दै आएको, देवगणका पात्रको निधन भएको छ । निधन भएका व्यक्तिको ठाउँमा अर्को पात्रले जात्रा सम्पन्न गरिदिएको रेकर्ड छ तर, नाच्दानाच्दैमा मृत्यु भएको त अहिलेसम्म थिएन’ डंगोलले भने ।
पाटनका विवेककृष्ण श्रेष्ठले राजनकै पोस्ट शेयर गर्दै स्वर्गीय महर्जनलाई श्रद्धान्जली दिएका छन् । काठमाडौं ज्याठा निवासी फोटो पत्रकार अकिल महर्जनले पनि सामाजिक संजालको भित्तामा हार्दिक श्रद्धान्जली भन्दै राम महर्जनको फोटो शेयर गरेका छन् ।
यो घटनालाई कतिले भैरवकै रुपमा, भैरवको नाच नाच्दै प्राण त्याग गरे, यो उनको भाग्य हो, उनी तरेर कैलाशमै पुगे भने । कतिले यसलाई अनिष्टको संकेत भने ।
किलागलका नातिकाजी महर्जन यसलाई भैरवले तेजवान शक्तिलाई भैरवले आफुमा तानेको अर्थमा बुझ्छन् ।
सामाजिक संजालमा महर्जन लेख्छन्, ‘भैरब र अजिमा गंद्यः परिवारका अभिभावक हुन् । सायद त्यहाँ अत्यन्त तेजवान शक्ति आयो जस्ले अरूलाई नोक्सान गर्न सक्थ्यो । त्यहि शक्ति भैरबनाथले खिच्नु भयो । भैरबनाथले खिंचेको शक्ति थामिनसक्नु भयो । अन द स्पट राम महर्जन (धामी) यस संसारमा रहनु भएन ।’
स्वर्गीय राम महर्जन श्वेतकाली गुठीको थाकुलीमध्येका एक हुन् ।
उहाँलार्ई उचित र सक्दो सम्मान भने दिनेछौं । गुठीमा उहाँको सम्मानजनक स्थान रहनेछ । उहाँलाई कसरी सम्मान गर्ने हो, त्यो हामी गुठीमा छलफल गरेर निर्णय गर्नेछौं
यस नाचको देवगणमा १४ जनालाई ‘मोहनि सिन्हः’ (कालो टीका) लगाइएको हुन्छ । यहि मोहनि सिन्हः लगाएका पात्रले मात्र नाच नाच्न पाउँछ । तिनै १४ जनामध्येका एकले भैरवको पात्र निर्वाह गर्दै जात्रा सम्पन्न गरिएको छ ।
६२ वर्षीय राम महर्जनको परीवारमा उनकी श्रीमतिको साथमा एक पुत्रको साथमा चार पुत्री रहेकी छन् । उनको अन्त्येष्टी शुक्रवार नै सम्पन्न भइसकेको छ ।
यसैबीच गुठीका सदस्य मचाराजा डंगोलले देवताकै रुपमा नाच्दानाच्दै निधन भएका राम महर्जनलाई जात्रा सम्पन्न भएपछि देवताकै रुपमा सम्मान दिएर अन्त्येष्टी गर्ने हो कि भन्ने छलफल गुठीमा भएको जानकारी दिए ।
‘उहाँलाई देवताकै रुपमा सम्मान दिएर अन्त्येष्टी गर्ने कुरा भएको थियो तर, त्यो गर्न पाइएन । उहाँलार्ई उचित र सक्दो सम्मान भने दिनेछौं । गुठीमा उहाँको सम्मानजनक स्थान रहनेछ । उहाँलाई कसरी सम्मान गर्ने हो, त्यो हामी गुठीमा छलफल गरेर निर्णय गर्नेछौं’ डंगोलले भने ।
महर्जनको निधनले गुठीको लागि अपूरणीय क्षति हुन गएको डंगोलले भने ।
Categorized in संस्कृति