arin enterprises

दिगो पर्यटन प्रवद्र्धन गर्न पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

SamacharDesk – बिराज | २०८३ जेठ १२, मंगलबार

काठमाडौं । नेपालमा दीगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्ध्दनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दीगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यशालामा विश्वव्यापी परामर्शदाता संस्था ‘बीड’ले तयार पारेको रणनीति र पाँच वर्षीय कार्ययोजना प्रस्तुत गरिएको थियो ।

उक्त कार्ययोजनामा बीडका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्यले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले नेपाल पर्यटनलाई संख्यामा आधारित मोडलबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको जानकारी दिए ।

रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन् ।

योजना निर्माण प्रक्रियामा १३५ जना सरोकारवालासँग परामर्श गर्नुका साथै ६ वटा लक्षित समूह छलफल गरिएको जनाइएको छ ।

यस रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन निर्भरताका छ वटा आधारस्तम्भको विश्लेषण गरेको छ ।

यसका साथै नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा मात्र नभई संस्कृति, अध्यात्म, आरोग्य, प्रकृति तथा दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ सुदृढ गर्न, डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन, नयाँ गन्तव्यको प्रवद्र्धन गर्न तथा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐयरले नेपालका सीमावर्ती शहरहरूमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको भए पनि समन्वित मार्केटिङ रणनीतिको अभाव रहेको बताएका छन् ।

उनले काठमाडौं बाहिरका शहरहरूलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मार्टहरु आयोजना गर्दै आएको जानकारी दिए ।

त्यस्तै यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार नै पर्यटन भएको उल्लेख गर्दै यसलाई पूँजीमा रुपान्तरण गर्न अझै चुकिरहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘नेपालको पर्यटनका विविध आयाम भएका कारण संख्या पनि उत्तिकै महत्वपूर्ण छ । तर, अझै मूल्यमा आधारित पर्यटन रणनीति नै आजको आवश्यकता हो ।’

कार्यक्रममा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसहित, नेपाल पर्वतारोहण संघ, नाटा, होटल व्यवसायी संघ, इसिमोड, नारालगायत विभिन्‍न पर्यटन क्षेत्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले कार्यशालाबाट प्राप्त सुझावलाई समेत समेटेर यस रणनीतीलाई अन्तिम रुपमा दिने जानकारी गराए ।

Categorized in बिजनेस