arin enterprises

भक्तपुरमा २१ दिने गणेश अभिषेक कार्यक्रम जारी

SamacharDesk – बिराज | २०८० पौष २२, आइतबार

भक्तपुरको तालाको टोलमा दैनिक गणेश अभिषेक ‘गणेश रुद्री’ कार्यक्रम चलिरहेको छ ।

११ गतेबाट सुरु गरिएको तालाको टोलको ज्याथा गणेशको अभिषेक कार्यक्रम आउँदो माघ २ गतेसम्म दैनिक रुपमा निरन्तर चल्ने आयोजक गणेशाभिषेक आयोजक समूहले जनाएको छ ।

निकै दुर्लभ, विरलै हुने गरेको दावी गरिएको गणेश रुद्रीको किताब देखेपछि भक्तपुरका देव ब्राह्मणहरु भेला भई कार्यक्रम गर्ने निर्णय गरेको कार्यक्रम संयोजक सरोजन राजोपाध्यायले बताए ।

‘महादेवको रुद्राभिषेक गरिएजस्तै शिवकै अंश गणेशको पनि अभिषेक गर्ने यस्तो दुर्लभ अनुष्ठान हामीले किन नगर्ने त भन्ने हाम्रो सल्लाह भयो । यो कार्यक्रम गर्ने भन्ने वित्तिकै सबै व्यवस्था आफैंमा मिल्न थाले जस्तो भयो र हामीले यो अनुष्ठान गर्न सफल भयौं’ संयोजक राजोपाध्यायले भने ।

देवताहरुले पनि संकटको समयमा पुकार्ने गणेश भगवानले सबैको कल्याण गरुन् भन्न कामनासहित कार्यक्रमको आयोजना गरेको राजोपाध्यायले बताए ।

दैनिक विहान ७ः३० बजे गणेश पूजनसँगै सुरु हुने कार्यक्रममा गणेशलाई अभिषेक गर्दै २१ जना देव ब्राह्मणहरुबाट अभिषेक वेदार्चन गर्ने गरिएको छ ।

मंगलवार भने विशेष कार्यक्रम हुने आयोजक समूहले जनाएको छ । कार्यक्रम संयोजक राजोपाध्यायका अनुसार मंगलबार विशेष कार्यक्रम अन्तर्गत सुरुमा गणेश पूजन, त्यसपछि अभिषेक वेदार्चन गरिन्छ भने वेदपाठपछि गणेश सहस्रनाम पाठ गरिन्छ ।

‘सहस्रनाम पाठको लागि भक्तजनहरुले हजार नामको हिसाबले हजारकै संख्यामा दक्षिणा अथवा दुबो अथवा समि राखेर गर्न सकिन्छ । नभए भक्तिभावका साथ नमस्कार गरेर गणेश भगवानलाई सम्झिँदै पनि गर्न सकिन्छ’ संयोजक राजोपाध्यायले भने ।

धर्मशास्त्रहरुमा गणेश अभिषेक गरेमा अपुरो, अधुरो रहेका काम पूर्ण हुने, मनोवांछित फल पाइने बताइएको राजोपाध्यायले जानकारी दिए ।

देशमा विद्यमान संकट हटोस्, जनताको कल्याण होस् भन्ने कामनासहित गणेश अभिषेक कार्यक्रम गरेको आयोजकको भनाई छ ।

कार्यक्रमलाई सफल बनाउन श्रद्धा र क्षमता अनुसार आर्थिक, भौतिक सहयोगको लागि पनि आयोजकले अपील गरेको छ । 

Categorized in संस्कृति