जेमिनाईले गुगल असिस्टेन्टलाई विस्थापित गर्दै
SamacharDesk | २०८० फाल्गुण ९, बुधबार

गुगलले हालै मात्र सार्वजनिक गरेको जेमिनाई एन्ड्रोइड एपले गुगल असिस्टेन्टलाई विस्थापित गर्ने लागेको देखिएको छ । केही सीमित क्षेत्रका प्रयोगकर्तामाझ मात्र उपलब्ध जेमिनाई एपले एआई हेल्परका रुपमा ‘गुगल असिस्टेन्ट’ नभई ‘जेमिनाई’लाई डिफल्ट बनाउन अप्सन दिएपछि गुगलले असिस्टेन्टलाई विस्थापित गर्ने तयारी गरेको बुझिएको हो ।
जेमिनाई गुगलको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम हो भने गुगल असिस्टेन्ट आवाजकै सहायताले मोबाइल फोन नियन्त्रण गर्न सघाउने गुगलको सिस्टम हो ।
जेमिनाईको आएसँगै गुगल असिस्टेन्टलाई स्तरीय बनाउन र त्यसमा उपयुक्त नयाँ फिचरहरु थप गर्न कम्पनीले नाम परिवर्तन गर्न खोजिरहेको बताइएको छ । तर, कम्पनीले असिस्टेन्ट र जेमिनाईबारे कुनै आधिकारिक धारण भने दिएको छैन ।
यदि प्रयोगकर्ताले पहिले नै गुगल असिस्टेन्टको एप इन्स्टल गरेको छ भने त्यसलाई अपडेट गर्दा त्यसको नाम जेमिनाई भएको देख्न सक्नेछन् । नयाँ प्रयोगकर्ताले पनि असिस्टेन्ट डाउनलोड गर्दा त्यसमा जेमिनाईको इन्टरफेस भएको देख्न सक्नेछन् ।
त्यस्तै कतिपय क्षेत्रमा असिस्टेन्ट एपको आइकन र नाम दुवै परिवर्तन भएको देख्न सकिन्छ भने कतिपयमा भित्र इन्टरफेस मात्र परिवर्तन भएको देखिन्छ ।
यस्तै कसैले दुवै एप डाउनलोड गरेको अवस्थामा भने फोनको एप लिस्टमा जेमिनाई एप र गुगल असिस्टेन्टको आइकन उस्तै भएको देख्न सकिन्छ ।
गुगलले यसअघि आफ्नो चर्चित एआई टुल बार्डको नाम परिवर्तन गरेर जेमिनाई राखेको थियो । यसअघि बार्ड डट गुगल डकटम साइटबाट उक्त एआई टुल प्रयोग गर्न सकिन्थ्यो भने अहिले उक्त साइट जेमिनाई डट गुगल डटकम वेबसाइट रिडाइरेक्ट भइरहेको छ ।
जेमिनाईको सामान्य भर्सन निःशुल्क प्रयोग गर्न सकिन्छ भने प्रिमियम भर्सनका लागि मासिक १९.९९ डलर तिरेर प्रयोग गर्न सक्छन् । उता जेमिनाईको कडा प्रतिद्वन्द्वी ओपनएआईको च्याटजीपीटी प्लसका लागि मासिक २० डलर तिर्नुपर्ने हुन्छ ।
Categorized in विज्ञान-प्रविधी