स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिंड्नुपर्ने बाध्यता
SamacharDesk – के. के. मानन्धर | २०८१ जेठ १८, शुक्रबार

केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका खनियापानीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
संघले सुनापति गाउँपालिका खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियोथेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामीण भेगमा भौगोलिक असहजताको कारणले अपेक्षित सेवा दिन असमर्थ रहेको स्वीकारे ।
पालिकाभर रगत, छाला, आँखा, दाँत आदिको ल्याब परीक्षणको सुविधा नहुँदा ससानो स्वास्थ्य समस्याको लागि स्थानियबासी दुई घण्टाको बस यात्रा तय गरेर काभ्रेको धुलिखेल अस्पताल पुग्न बाध्य छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको अस्पताल सुनापति गाउँपालिकामा बनिसकेको छैन ।
अस्पतालको भौतिक संरचना शिलान्यास भएर पनि अपेक्षित काम नहुँदा सुनापतिका स्थानियबासी असन्तुष्टि व्यक्त गर्छन् ।
रामेछापको सुनापति गाउँपालिका राजधानीबाट नजिकै रहेपनि विकास निर्माण तथा भौतिक सुविधाको दृष्टिले दुर्गम पालिका हो ।
पालिकामा स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य सम्बन्धिको जनचेतना जागृत गर्नको लागि संघले एकदिने शिविर सञ्चालन गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए ।
शिविरमा सहभागी लाभग्राहीहरुले दुई घण्टा हिंडेरै पनि स्वास्थ्य चेकजाँच गराएको श्री मानन्धर सेवा समाजका अध्यक्ष चक्र बहादुर मानन्धरले जनाए ।
शिविरमा ४५४ जना बिरामीहरुले नाम दर्ता गराएर सेवा लिएको मानन्धरले जानकारी दिए । बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएको शिविर बेलुकी ७ बजे सम्पन्न भएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष तामाङ, उपाध्यक्ष गिता विष्ट, सुनापति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर र गाउँपालिकाका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।
शिविरमा डा. कन्सल्टेन्ट फिजिसियन सन्तोष मानन्धर, स्त्रीरोग विशेषज्ञ डा. मीना प्रधान, आँखा रोग विशेषज्ञ डा. आशिस राज पन्त, डेन्टल सर्जन डा. उपमा कार्की, डेन्टल असिस्टेन्ट ईमी श्रेष्ठ मानन्धर र अप्टोमेट्रिस्ट प्रतिमा घिसिङले स्वास्थ्य सेवा दिएका थिए ।
संघले सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँगको समन्वयमा एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको थियो ।
Categorized in समाज